आइतबार, जेठ ३२, २०७७ || 807  पटक पढिएको

माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार मान्नु न्यायोचित हुने सरोकारवालाले सुझाव दिएका छन् । सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने निर्णय गर्दै त्यसको कार्यविधि निर्माणको तयारी सुरु भएका बेला निजी शिक्षा सञ्चालकबाट यस्तो सुझाव दिइएको हो ।
विद्यालयले फेरि लिखित या भर्चुअल परीक्षा लिन सम्भव र व्यावहारिक नभएको अवस्थामा यसअघि लिएका परीक्षाका आधारमा विद्यार्थीको मूल्याङकन गरिनु नै सान्दर्भिक हुने सुझाइएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले विद्यालयले आफ्ना विद्यार्थीको मूल्याङ्कन गर्ने विषयलाई अतिरञ्जित बनाउने र दुरुपयोग गर्न नहुने बताउनुभयो । यो बेला शिक्षक, विद्यालय र प्रधानाध्यापकको समेत परीक्षा हुने समय आएको उहाँको भनाइ छ । केही विद्यालयले परीक्षा लिने केहीले नलिने गर्नुभन्दा कक्षा १० को यसअघि सञ्चालित परीक्षाकै आधारमा अन्तिम निर्णय दिनुपर्ने उहाँको भनाइ छ । धेरै विद्यालयले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई प्रथम, दोस्रो र अन्तिम गरी तीन पटक परीक्षा लिने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले भने मातहतका विद्यालयलाई कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई चार पटक परीक्षा लिन निर्देशन गरेको थियो । आफूहरूले धेरै पहिलेदेखि विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मा विद्यालयलाई दिन माग गर्दै आएको स्पष्ट गर्दै प्याब्सन अध्यक्ष पुरीले यो जिम्मेवारी पूरा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीको आन्तरिक मूल्याङ्कनमा प्रधानाध्यापक हावी हुन सक्ने खतरा औँल्याउँदै त्यसमा विचार पु¥याउनुपर्ने अवस्था रहेको बताउनुभयो । विषय शिक्षकलाई नै विद्यार्थीको मूल्याङ्कन गर्ने अधिकार दिनुपर्ने उहाँको भनाइ छ । विशेष अवस्थाका कारण यस पटक विद्यालय तथा शिक्षकले पाएको जिम्मेवारी सदुपयोग गर्नुपर्ने सापकोटाको भनाइ छ ।
उहाँले प्रथम, दोस्रो र अन्तिम परीक्षाका आधारमा निर्णय गर्न सक्ने बताउनुभयो । कतिपय अवस्थामा विद्यार्थीले आन्तरिकभन्दा अन्तिम परीक्षामा धेरै मिहिनेत गर्ने र उत्कृष्ट अङ्कसमेत ल्याउने गरेको आफूहरूको अनुभव भएकाले यस विषयलाई समेत विद्यार्थीको मूल्याङ्कनका क्रममा विचार गर्नुपर्ने उहाँको भनाइ छ । केही विद्यालयले कक्षा १० को सेन्टअप परीक्षा नै नलिएका कारण मूल्याङ्कनमा समस्या पर्न सक्ने एन प्याब्सन अध्यक्ष सापकोटाले बताउनुभयो ।
सरकारी अधिकारीले यसको कार्यविधि बनाएर सरकारको निर्णय कार्यान्वयनमा ल्याउने जनाएका छन् । गत बुधबारको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दीले कक्षा १० को एसईई परीक्षालाई पुरानो परिपाटीबाट नलिने निर्णय गर्दै विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कन र राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी प्रमाणपत्र सार्वजनिक गर्ने निर्णय गरेको थियो । यो समाचार आजको गोरखा पत्रमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!