खबर ठुलो छ

यशोधरा गाउँपालिका–५ का दुर्गेशकुमार धोबी स्टिलको भाँडामा तातो पानी बोकेर हतारिँदै घर छेउको अनिरुद्र पब्लिक मावि बैदौलीमा आइपुगे । स्कुलको मूल गेटबाट मुखमा कपडाको हरियो मास्क लगाएका उनका भिनाजु बाहिर निस्किए । गेट छेउमा भिनाजुले भाँडो थापे । त्यसमै उनले तातो पानी खन्याइदिए । एकैछिन गफ गरे अनि आफ्नो बाटो लागे । धोबीलाई हामीले स्कुल छेवैको चोकमा रोक्यौं । भारतको मुम्बईबाट एक महिनाअघि फर्किएका उनका भिनाजु कोरोना संक्रमित भएपछि यही स्कुलको आइसोलेसनमा राखिएका रहेछन् । जहाँ उनीसहित ७२ जना संक्रमितलाई राखिएको छ । संक्रमितलाई तागतदार खानेकुरा र तातो पानी चाहिन्छ भनेरै भिनाजुलाई दिनमा तीनपटक तातो पानी र दुईपटक उसिनेको अन्डा पुर्‍याउन आउने गरेको धोबीले बताए ।

यशोधरामा जिल्लामै सबैभन्दा धेरै १ सय ५१ संक्रमित छन् । भारतबाट फर्किएकाहरूलाई जसरी विद्यालयमा क्वारेन्टाइनमा राखिन्छ, त्यसैगरी उनीहरूलाई फरक–फरक तीन विद्यालयमा आइसोलेसनमा राखिएको छ । संक्रमितलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने र आइसोलेसन सेन्टरमा भेन्टिलेटर, स्वास्थ्यकर्मी, एम्बुलेन्स र अक्सिजनजस्ता अत्यावश्यकीय सुविधा हुनुपर्ने मापदण्डमा उल्लेख छ । तर कपिलवस्तुका अधिकांश स्थानीय विद्यालयमा बनाइएका यस्ता सेन्टरमा यस्तो प्रबन्ध देखिँदैन । खाना र खाजाको प्रबन्ध स्थानीय तहले मिलाएका छन् । संक्रमितका आफन्तले तातो पानी, अन्डा, फलफूलजस्ता खानेकुरा आइसोलेसन सेन्टरमै पुर्‍याउने अभ्यासले समुदायस्तरमा संक्रमण फैलिने जोखिम बढाएको छ ।

यशोधरा–७ का अब्दुल आलम आइसोलेसनमा राखिएका भाइलाई खानेकुरा पुर्‍याउन आएका थिए । विद्यालय छेवैको रूखमुनि बसेर उनी गम्छाले पसिना पुछिरहेका थिए । दिनमा दुईपटक तातो पानी लिएर भाइलाई भेट्न आउने गरेको सुनाउँदै उनले गर्मीमा स्कुलको आइसोलेसनमा बस्दा भाइलाई गाह्रो भएको जानकारी दिए । मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका उनका भाइलाई संक्रमित भएपछि आइसोलेसनमा राखिएको हो ।

संक्रमित राख्न यशोधराका विद्यालयमा बनाइएका केही आइसोलेसन सेन्टर पुग्दा तिनको अवस्था क्वारेन्टाइनको भन्दा फरक देखिएन । अनिरुद्र पब्लिक माविको आइसोलेसनमा झ्यालबाट बाहिर चियाइरहेका एक संक्रमितसँग हामीले पर्खाल बाहिरबाटै कुरा गर्‍यौं । ती संक्रमितले बताएअनुसार ७२ जनाका लागि चारवटा मात्रै शौचालय छ, तातो पानीको व्यवस्था छैन । ‘गर्मीले उधुम सताउँछ । लामखुट्टेको टोकाइ उस्तै छ । स्कुलमा बस्नुभन्दा बरु घरमै पठाइदिए हुन्थ्यो,’ उनले भने ।

आइसोलेसन सेन्टरको व्यवस्थापनमा खटिएकाहरू पनि सुरक्षित देखिएनन् । अनिरुद्र पब्लिक माविस्थित आइसोलेसन सेन्टरको सुरक्षामा खटिएका तीन प्रहरी जवान र एक हवल्दारमध्ये तीन जना आइसोलेसन बाहिर घुमिरहेका थिए । तीमध्ये दुईले मास्कसमेत लगाएका थिएनन् । कसैको हातमा सामान्य पन्जासमेत थिएन । सञ्चारकर्मी देखेपछि एक प्रहरी जवान नजिकैको कोठामा छिरी मास्क लगाएर निस्किए । अफिसले दिएको मास्क एउटा मात्रै रहेको र अहिले त्यही लगाइरहेको उनले बताए । ‘अरू त केही पनि दिएको छैन,’ उनले भने, ‘यही सर्जिकल मास्क हो ।’

संक्रमित राखिएको विद्यालय मूल सडकसँगै जोडिएको छ । संक्रमितहरू चर्को गर्मीका कारण विद्यालयको पर्खाल छेउमा लस्करै उभिएर शीतल ताप्दै सडकको गतिविधि हेर्ने गर्छन् । मूल सडक र पर्खालबीच मुस्किलले दुई मिटर पनि छैन । मास्कसमेत नलगाएका स्थानीय बासिन्दा साइकलमा वा पैदल यही पर्खाल छेउ हुँदै गन्तव्यतर्फ लागिरहेका हुन्छन् । संक्रमितहरूलाई व्यवस्थित रूपमा नराखिँदा र स्थानीयमा मास्क नलगाई आइसोलेसन सेन्टरको वरपर जानु हुँदैन भन्ने ज्ञान नहुँदा संक्रमणको जोखिम समुदायस्तरमै फैलिने खतरा बढेको छ ।

आइतबार मध्याह्न आइसोलेसनअघि पुग्दा समसुद्धिन मुसलवान २ छोरा लिएर आइसोलेसेनकै छेउ हुँदै खेततिर जाँदै थिए । उनीहरू तीनै जनाले मास्क लगाएका थिएनन् । तातो पिचमा काठको पांग्रा गुडाइरहेका उनका साना छोराको खुट्टामा चप्पलसमेत थिएन । समसुद्धिनको संयुक्त परिवारमा उनका ३ छोराछोरीसहित १९ जना छन् । उनले केही दिनअघि सबैलाई पुग्ने गरी होलसेलमै कपडाको मास्क किनेको भए पनि खेतमा जाने बेला जरुरी नदेखेर नलगाएको बताए । विद्यालयमा कोरोना संक्रमित राखिएको सन्दर्भमा उनले भने, ‘विद्यालय नजिक जाँदैमा के फरक पर्छ र †’

आइसोलेसनमा राखिएका संक्रमितहरूलाई परीक्षण गर्न स्वास्थ्यकर्मी आएको देखिँदैन । परामर्श र स्वास्थ्य जोखिमबारे जानकारी लिने व्यवस्था नहुँदा संक्रमितहरू आत्तिएका छन् । आइसोलेसनको सुरक्षामा खटिएका प्रहरी जवान दीपेन्द्र उपाध्यायले केही संक्रमितले आफूलाई केही नभएको भन्दै घर पठाइदिन भन्दै करकर गरिरहेको सुनाए ।

यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुवेले आइसोलेसनको मापदण्डअनुसारका केही कुरा पनि प्रबन्ध गर्न नसकिएको स्विकारे । ‘क्वारेन्टाइनकै संरचनालाई आइसोलेसन नाम दिइएको हो,’ उनले भने, ‘क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा कुनै फरक छैन ।’ अहिलेसम्म चिकित्सक ल्याएर संक्रमितको जाँच गराउन नसकिएको उनले बताए । ‘उनीहरूलाई आड भरोसा दिने कुनै काम गर्न सकिएको छैन,’ उनले भने ।

दुवेले संक्रमितहरूले मानसिक तनाव झेलिरहेको बताए । कहिले निको भएर घर जान पाइने, आफ्नो स्वास्थ्य अवस्था कस्तो छ, आफूहरूलाई किन कहिले क्वारेन्टाइनमा त कहिले आइसोलेसनमा राखिएको जस्ता प्रश्नको उत्तर संक्रमितहरूले पाउन नसकेको उनले बताए । ‘सीमित स्रोत साधन भएको गाउँपालिकाले क्वारेन्टाइन र आइसोलेसन दुवैको व्यवस्थापन हेर्नुपरेको छ,’ उनले भने, ‘हामीले कसरी धानिरहेका छौं होला †’

यशोधराजस्तै धेरै संक्रमित रहेको कपिलवस्तुको अर्को महाराजगन्ज नगरपालिका हो । यहाँ आइतबार साँझसम्म १ सय ११ संक्रमित पुगेका छन् । सीमावर्ती यो नगरपालिकाले पनि यशोधराकै जस्तो नियति भोगिरहेको छ । नगरपालिकाले एउटा विद्यालयमा बनाएको आइसोलेसन सेन्टरमा ६८ जनालाई राखिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले आइसोलेसन सेन्टरमा कुनै पनि मापदण्ड पूरा गर्न नसकेको बताए । ‘हामीसँग स्रोत र साधन केही छैन,’ उनले भने, ‘न संघीय सरकारले न त प्रदेश सरकारले नै हाम्रो कुरा सुन्छन् ।’ सिंगो नगरपालिकामा रहेको एउटा स्वास्थ्यचौकीमा एक जना चिकित्सकको दरबन्दी रहे पनि ६ महिनादेखि रिक्त रहेको उनले बताए ।

जयसवालले चिकित्सकको प्रबन्ध गर्न नसक्दा संक्रमितहरू धेरै आत्तिएको र उनीहरूलाई काउन्सिलिङसम्म पनि गर्न नसकिएको सुनाए । दोस्रो र तेस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाहरूलाई पनि घर पठाउनुअघि गर्नुपर्ने चिकित्सकीय जाँचमा पनि ढिलाइ भइरहेको उनले बताए । उनका अनुसार शनिबारदेखि नै संक्रमणमुक्त भएका ९ जनालाई स्वास्थ्य जाँच र परामर्श दिएर घर पठाउनुपर्नेमा डाक्टरको अभावले रोकिएको छ । ‘अनेकतिर अनुरोध गरेर छिमेकी मायादेवी गाउँपालिकाबाट डाक्टर बोलाएको छु,’ उनले भने, ‘अब परीक्षण र परामर्श दिएर तिनलाई घर पठाउने हो ।’ स्वास्थ्य शाखा प्रमुख जयसवालले नगरपालिकामा संक्रमितहरूको संख्या बढिरहे पनि अहिलेसम्म ‘भगवान्ले बचाएको’ बताए । ‘धन्न, केही नराम्रो भएको छैन,’ उनले भने ।

लापर्बाहीको हद

पहिलो संक्रमण देखिएको ३१ दिनमा ५ सय ४७ संक्रमित पुगेको कपिलवस्तुमा आधा संक्रमित यशोधरा र महाराजगन्जका छन् । तर दुवै स्थानीय तहले व्यवस्थापन गरिरहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टरले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सरकारी तयारीले अव्यवस्थाको हद दर्शाउँछ । संक्रमितहरूको संख्या बढ्दै जाँदा जिल्लाका मुख्य हटस्पट क्षेत्रमा उनीहरूको सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन ।

क्वारेन्टाइनमा राखिएकाहरूको समयमै स्वाब संकलन गरिँदैन । गरिएकाहरूको पनि समयमै परीक्षणको नतिजा आउने गरेको छैन । यसले अव्यवस्थित क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरूको स्वास्थ्य थप जोखिममा पर्ने देखिन्छ । संक्रमणको सुरुवाती दिनमा देखिएको अव्यवस्था र ढिलासुस्ती पछिल्ला दिनमा कसरी बढ्दै गएको छ भनेर बुझ्न यशोधरा गाउँपालिका बलियो ‘केस स्टडी’ हुन सक्छ ।

जस्तो कि वैशाख २७ गते यशोधरा गाउँपालिकामा पहिलोपटक ६२ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यसको नतिजा चार दिनपछि आयो । त्यसबाट १२ जनामा संक्रमण पुष्टि भयो । ती संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गर्न गाउँपालिकाले तुरुन्तै कन्ट्याक्ट ट्रेसिङका लागि टिम बनायो । जसले नजिकको सम्पर्कमा आएका ५२ जना पहिचान गरेर तिनको विस्तृत विवरणसहितको फाराम भर्‍यो अनि तीमध्ये ३२ जनालाई स्कुलको क्वारेन्टाइनमा र अरूलाई घरमै निगरानीमा राख्ने व्यवस्था मिलाइयो । तर कन्ट्याक्ट ट्रेसिङमा आएका ५२ मध्ये २७ को मात्रै पीसीआर परीक्षण गरियो । अन्य २५ जनालाई बिनापरीक्षण घर पठाइयो । उनीहरूको अहिलेसम्म परीक्षण गरिएको छैन । तिनको अवस्थाबारे सरकारी संयन्त्रलाई कुनै जानकारी पनि छैन । परीक्षण नहुने भएपछि त्यसपछिका दिनमा गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङ नै बन्द गर्‍यो । गाउँपालिकाका एक कर्मचारीले स्रोतसाधनको अभाव भएको र कन्ट्याक्ट ट्रेसिङ गरे पनि तिनको परीक्षण गर्ने व्यवस्था जिल्ला जनस्वास्थ्य कार्यालयले नमिलाइदिएको हुनाले आफूहरू चुप लागेर बसेको बताए । गाउँपालिकाले जेठ २ गतेयता कन्ट्याक्ट ट्रेसिङ गरेको छैन ।

एकातिर परीक्षणको दायरा बढाइएन । पीसीआर किट र स्वाब संकलन गर्ने भीटीएमकै अभाव भयो । त्यसपछि गाउँपालिकाले जेठ ७ गते काठमाडौंको एक निजी फर्मबाट १ हजार २ सय ८० थान भीटीएम खरिद गर्‍यो । त्यसपछि बल्ल ७ गते १ सय ५ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भैरहवास्थित प्रदेश प्रयोगशालामा पठायो । गाउँपालिकाले ८ गते १ सय ३९ जनाको स्वाब संकलन गरेर पठायो तर तत्काल परीक्षण गर्ने सामथ्र्य नभएको भन्दै भैरहवास्थित प्रयोगशालाले उक्त स्वाब लिन मानेन । गाउँपालिकाले उक्त स्वाब भोलिपल्ट अर्थात् ९ गते दाङ पठाइएकामा त्यहाँबाट पनि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइयो । कहिले भीटीएमको अभाव हुने र कहिले संकलन गरिएको स्वाब नजिकको प्रयोगशालाले लिन नमान्ने भएपछि गाउँपालिकाले केही दिन आरडीटी परीक्षण गर्ने र केही दिनको अन्तरमा मात्रै पीसीआर परीक्षण गर्ने नीति लियो । त्यहीअनुरूप ९ देखि ११ गतेबीचमा गाउँपालिकाले आरडीटी परीक्षण गर्दै पोजिटिभ आउनेलाई क्वारेन्टाइनमा राख्ने र नेगेटिभ आउनेलाई घर पठाउने गर्‍यो ।

१२ गते गाउँपालिकाले २ सय २४ जनाको स्वाब संकलन गरेर काठमाडौंस्थित प्रयोगशाला पठायो, जसको नतिजा १२ दिनपछि अर्थात् जेठ २४ गतेमात्र आयो । उक्त नतिजामा ३६ जना संक्रमित पुष्टि भए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुवेका अनुसार संक्रमण बढ्दै जाँदा पीसीआरको नतिजा पनि समयमा नआउने अनि क्वारेन्टाइनमा बसेकाहरू आत्तिने र तिनीहरू भागेर जाने खतरा बढेको बताए ।

जेठ १६ गतेयता गाउँपालिकाले ४ सय ३५ जनाको स्वाब संकलन गरेर भैरहवा र काठमाडौंस्थित प्रयोगशालामा पठाएको छ, जसको नतिजा आइसकेको छैन । २१ गते गाउँपालिकाले स्वाब संकलन गरेर भैरहवास्थित प्रयोगशालामा पठायो तर उक्त प्रयोगशालाले नभ्याउने भन्दै स्वाब अर्को दिन काठमाडौंस्थित प्रयोगशालामा पठायो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दुवेका अनुसार १६ गतेयता स्वाब संकलन गरिएकामध्ये २ सय ९३ जनाको रिपोर्ट आउन बाँकी छ । गाउँपालिकाका अनुसार १०–१२ दिनसम्म रिपोर्ट नआउनु सामान्यजस्तै हुन थालेको छ । ‘रिपोर्ट आउने समयको टुंगो नहुँदा क्वारेन्टाइनमा बसेकाहरू आक्रोशित हुन थालेका छन्,’ दुवेले भने, ‘क्वारेन्टाइनमा बसेकाहरू व्यवस्थापनप्रति आक्रोशित भएकैले हामी त्यहाँभित्र जानै सकेका छैनौं । यस्तो पारा हो भने हामी यहाँ बस्दैनौं भन्छन् । हामी भेट्न गयौं भने ढुंगामुढा नै हुन सक्छ ।’

आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएकै भरमा छोडिदिँदा, संक्रमित पुष्टि भएकालाई पनि समयमै क्वारेन्टाइनबाट छुट्याएर आइसोलेसनमा नराखिँदा र कन्ट्याक्ट ट्रेसिङलाई बेवास्ता गरिँदा संक्रमणको जोखिम झनै बढेको छ । यशोधरा गाउँपालिकामा पुष्टि भएका १ सय ५१ संक्रमितमध्ये धेरैजसो क्वारेन्टाइनभित्रै संक्रमित भएका हुन् । कतिपय भने आरडीटी नेगेटिभ भएकै भरमा गाउँ गएका र पछि शंका लागेर पीसीआर विधिबाट परीक्षण गरिँदा संक्रमण पुष्टि भएका हुन् ।

यशोधराको छिमेकी महाराजगन्ज नगरपालिकामा अर्को कोरोना हटस्पटजस्तै देखिन्छ । नगरपालिकाको एउटा विद्यालयको आइसोलेसनमा अहिले ६८ जना र अन्य विद्यालयको क्वारेन्टाइनमा ४ सय १९ जना छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले स्वाब परीक्षणको नतिजा १० दिन हुँदासम्म नआउँदा झनै समस्या थपिएको बताए । महाराजगन्ज नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा पनि कुनै डाक्टर र स्वास्थ्यकर्मीको टिम छैनन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसवालले भने, ‘भेन्टिलेटर, डाक्टर, स्वास्थ्य सहयोगी, अक्सिजन र एम्बुलेन्सबिनाको आइसोलेसन चलाएका छौं ।’ उनले क्वारेन्टाइन र आइसोलेसनमा खासै फरक नहुँदा संक्रमण पुष्टि भएकाहरू पनि क्वारेन्टाइन छाडेर आइसोलेसनमा जानै नमान्ने समस्या देखिएको बताए । ‘जता बसे पनि उस्तै त हो नि भनेर जानै मान्दैनन्,’ उनले भने, ‘शनिबार संक्रमण पुष्टि भएका १३ र आइतबार संक्रमण पुष्टि भएका ५ जनालाई आइसोलेसनमा ल्याउनै समस्या परिरहेको छ ।’

संक्रमितहरूको संख्या बढ्दै जाँदा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन नै नगरपालिकालाई भारी परिरहेको देखिन्छ । जसले कन्ट्याक्ट ट्रेसिङ नगरपालिकाको प्राथमिकतामा पर्नै छाडेको देखिन्छ । जसले संक्रमणको पुष्टि भएकाको नजिक सम्पर्कमा आएकाहरूको परीक्षण नहुने र तिनीहरूबाट गाउँ–गाउँसम्म संक्रमण फैलिने जोखिम रहन्छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसवालले भने, ‘केहीको कन्ट्याक्ट ट्रेसिङ गरे पनि सबैको सम्भव देखिएको छैन ।’

स्वास्थ्य शाखा प्रमुख जयसवालले आफूहरूले बारम्बार आइसोलेसनका लागि डाक्टर र स्वास्थ्यकर्मीसहितको टिम प्रदेश सरकारसँग मागे पनि नपाएको बताए । यशोधरामा रहेका तीनवटै आइसोलेसनमा अहिले स्वास्थ्यकर्मीको टिम छैन । एकाध प्रहरी जवानको भरमा तिनको सुरक्षा प्रबन्ध र केही कर्मचारीले खानपानको व्यवस्था गर्नेबाहेक आइसोलेसनमा राज्यको भूमिका देखिँदैन । क्वारेन्टाइन मात्रै व्यवस्थापन गर्न हम्मेहम्मे परेका बेला जिल्ला जनस्वास्थ्य कार्यालयले आइसोलेसन व्यवस्थापनको जिम्मा पनि गाउँपालिकाकै टाउकामाथि थोपरिदिएको गुनासो स्थानीय जनप्रतिनिधिको छ । स्वास्थ्य शाखा प्रमुख दुवेले भने, ‘यहाँ त भगवान् भरोसे भनेजस्तो भएको छ ।’

जिल्लास्तरीय कोरोना भाइरस क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले जेठ ९ गते ३० जना स्वास्थ्यकर्मी माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । ‘माग सुनुवाइ भएको छैन,’ उनले भने, ‘हामीले छिट्टै आउँछन् भन्ने आशा राखेका छौं ।’ पौडेलको अध्यक्षतामा बैठक बसेर १० चिकित्सक र २० स्टाफ नर्स माग गरिएको थियो । १० स्थानीय तहमा रहेको आइसोलेसन सेन्टरमा एक/एक जना डाक्टर र दुई/दुई जना स्टाफ नर्स पठाउने योजना थियो जुन अहिलेसम्म पूरा भएको छैन । प्रदेशको अस्थायी राजधानी रूपन्देहीको बुटवलमा छ तर छिमेकी जिल्ला सबैभन्दा संकटमा परेको छ । नजिकै भएर पनि कपिलवस्तुमा कोरोना संक्रमण रोकथाममा भइरहेको अव्यवस्थापन र ढिलासुस्तीको हद प्रदेश सरकारले टुलुटुलु हेरेर बसेझैं भान हुन्छ ।

 

सोमबार, जेठ २६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया