खबर ठुलो छ

कोभिड–१९ को ‘हब’ अस्पतालका रुपमा रहेको पाटन अस्पतालमा अरु रोगको उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको पहिलो केही सातासम्म दैनिक झण्डै १५० जना उपचारका लागि आएकामा अहिले त्यो सङ्ख्या तीनदेखि चार सय पुगेको छ । बन्दाबन्दीको दुई महिना बित्दा नियमित सेवाका लागि आउने बिरामी बढिरहेको अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताउनुभयो । काठमाडौँ उपत्यकामा बिरामीको चाप उच्च रहने अस्पतालमध्ये यो पनि एक हो । सामान्य अवस्थामा दैनिक झण्डै दुई हजार बिरामी आउँछन् । उहाँले भन्नुभयो, “लकडाउन लम्बिरहँदा नियमित सेवाका सबै खालका बिरामी बढिरहेको छ ।” अस्पतालमा प्रसूति सेवा र गर्भवती नियमित जाँचका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको शुरुका दिनदेखि नै अस्पताल आउने गर्भवतीको जाँच गरिरहेको छ । अहिले दैनिक सातदेखि १२ महिलाले सन्तानलाई जन्म दिइरहेका छन् । यो सङ्ख्या सामान्य अवस्थाकै हाराहारीमा भएको अस्पतालले जनाएको छ । अस्पतालले बन्दाबन्दीको शुरुदेखि नै कोभिड–१९ का सङ्क्रमितको उपचारसँगै नियमित सेवाका लागि आउने बिरामीको उपचार गरिरहेको छ । अस्पतालले कोभिड–१९ का सम्भावित बिरामीलाई ‘आइसोलेशन श्यया’ मा राखेर उपचार गरिरहेको छ । बन्दाबन्दीका कारण बिरामीलाई अस्पतालसम्म आउन सहज नभएकाले केही सङ्ख्या घटे पनि अहिले पुनः बढिरहेको निर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्या सामान्य अवस्थाभन्दा कम भए पनि सबै खालका बिरामी आइरहेका छन् ।” अस्पतालले सङ्क्रमित व्यक्तिलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया (आइसोलेशन वार्ड) छ । त्यही बिरामीको परीक्षण हुन्छ । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्न अस्पतालमा छुट्टै १५ श्ययाको व्यवस्था छ । पहिले पिसिआर प्रविधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएकामा अहिले अस्पतालमै परीक्षण हुन्छ । अस्पतालमा २० वटा सघन उपचार कक्ष छन् । कतिपय श्ययामा अहिले अरु रोगका बिरामी रहेका छन् । अरु रोगका बिरामीलाई व्यवस्थापन गर्दै कक्ष आवश्यक पर्दा कोभिड–१९ का गम्भीर खालका बिरामीलाई उपचार गर्ने तयारी छ । तत्काललाई अस्पतालले गरेको व्यवस्थापन अपर्याप्त नभएको निर्देशक शर्माले बताउनुभयो । भविष्यमा महामारीकै अवस्था आउँदा अपर्याप्त हुनसक्ने भए पनि अहिलेको अवस्था पर्याप्त हुने देखिएको छ । जिल्लामा रहेका अस्पतालले उपचारका लागि तयारी अवस्थामा रहनुपर्ने उहाँले बताउनुभयो । अस्पतालले कोभिड–१९ का सङ्क्रमित आउनु पहिलेदेखि नै आवश्यक तयारी गरिरहेको थियो । अहिले पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) बनाउने, अस्पताल हातामा निसङ्क्रमित गर्ने, गेटबाट नै स्वास्थ्य परीक्षणलगायतका काम गरिरहेको छ । अस्पतालले यहाँ कार्यरत चिकित्सकको सुरक्षाका लागि आफैँले पिपिइ बनाइरहेको छ । यहाँ उत्पादित पिपिइमध्ये धेरै प्रयोग भइरहेको र कतिपय आगामी दिनमा प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ । ‘पिपिइ’ अभावको अवस्था आउन नदिन अस्पतालले आफैँ निर्माण शुरु गरेको निर्देशक डा शर्माले बताउनुभयो । अस्पतालमा अहिले सङ्क्रमित नौ र छ जना आइसोलेशनमा छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग र पाटन अस्पतालले समन्वयमा बिरामी उपचार गर्दै आएको छ । केही दिन पहिलेमात्रै यस अस्पतालमा एक कोभिड–१९ सङ्क्रमितको शल्यक्रियासमेत भएको थियो ।

बुधबार, जेठ १४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया