खबर ठुलो छ

राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि आह्वान गरिएको जारी लकडाउनका कारणले दैनिक कामकाज बन्द हुँदा आफूहरु प्रभावित बनेको भन्दै वडाका कृष्ण टोलसहित पार्वती टोल, गणतन्त्र टोल र शिवटोलका स्थानीयवासी आन्दोलित भएपछि मङ्गलबार १०० परिवारलाई महानगरपालिकाले वडा कार्यालयमार्फत राहत वितरण गरेको हो । महानगरले वितरण गरेको राहत पाउनबाट आफूहरु वञ्चित भएको, लकडाउनले दैनिकी कष्टकर भएको र परिवार भोकै बस्नुपर्ने बाध्यता भएको भन्दै टोलवासीले राहत माग्दै आइतबार वडा कार्यालय तथा सोमबार महानगर कार्यालयमा उपस्थिति भएर नाराबाजीसहित धर्ना र घेराउ गरेका थिए । सोही वडाका वडाध्यक्ष रामराज लामिछानेले राहत मागेर आन्दोलन गरेका परिवारलाई वडा सदस्यको नेतृत्वमा टोली पुगेर राहत दिएको बताउनुभयो । “राहत मागेर आन्दोलन गरेका १०० घरपरिवारलाई मङ्गलबार वडा सदस्यसहितको टोलीले राहत वितरण गरेको छ । हाललाई उनीहरुको चित्त बुझायौँ”, वडाध्यक्ष लामिछानेले भन्नुभयो । कृष्णटोलमा यसअघि पनि ५१ परिवारलाई राहत वितरण गरिएको बताइन्छ । महानगरले चार वा सो भन्दा बढी सङ्ख्या भएको परिवारलाई पूरा प्याकेज र तीन जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराएको छ । पूरा प्याकेजमा २५ केजी चामल, एक केजी नुन, एक लिटर तेल तथा आधा प्याकेजमा साढे १२ केजी चामल, एक केजी नुन, आधा लिटर तेल, रातो दाल एक केजी लगायत रहेको छ । कृष्णटोल विकास संस्थाका उपाध्यक्ष कान्छा लामाले राहत माग गरेका केही परिवारलाई प्राप्त भए पनि अझै केही परिवार बाँकी रहेको बताउनुभयो । साँझ–बिहान चुलो बन्द भएका परिवार यसबाट लाभान्वित भएको उहाँको भनाइ छ ।

बुधबार, बैशाख १७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया