शनिबार, बैशाख १३, २०७७ || 679  पटक पढिएको

बाहिरी जिल्लाबाट तरकारी आयात गर्न रोक लगाइएपछि तनहुँ जिल्लाका कृषक खुशी भएका छन् । बन्दाबन्दीका क्रममा स्थानीय उत्पादनले बजार नपाएपछि निरास बनेका कृषक बाहिरी जिल्लाबाट तरकारी आयात गर्न रोक लगाइएपछि खुशी भएका हुन् । बन्दाबन्दीका कारण तरकारी बिक्री नहुँदा बारीमै तरकारी कुहिने चिन्तामा रहेका यहाँका कृषक अब भने स्थानीय उत्पादनले बजार पाउनेमा ढुक्क छन् । बाहिरी जिल्लाबाट सहजरूपमा तरकारी भित्रिने तर स्थानीयस्तरमा उत्पादन भइरहेका तरकारी कुहिने हो कि भन्ने चिन्ता हटेको तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका कृषक सोलबहादुर चितौरे मगरले बताउनुभयो । बन्दाबन्दी अगाडि यहाँ उत्पादित तरकारी चितवन, धादिङ, काठमाडौँसम्म निर्यात हुने गरे पनि अहिले व्यापारीले तरकारी खरिद गर्न छाडेका थिए । “तर अब बाहिरी जिल्लाबाट तरकारी आउन बन्द भएपछि यहाँका कृषक खुशी भएका छन्”, उहाँले भन्नुभयो, “बारीमै तरकारी कुहाएर फाल्न नपर्ने भयो ।” उहाँका अनुसार तनहुँ जिल्लाका लागि आवश्यक तरकारी जिल्लाभित्रै उत्पादन हुने गरेको छ । उहाँका अनुसार जिल्लाको आँबुखैरेनी, बन्दीपुर, शुक्लागण्डकीलगायतका ठाउँमा कृषकले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका छन् । बन्दाबन्दीका क्रममा व्यवस्थितरूपमा तरकारी बिक्री वितरणको व्यवस्था मिलाउन सकिए उपभोक्ताले पनि सुपथ मूल्यमा तरकारी खरिद गर्न पाउने चितौरेले बताउनुभयो । यहाँ उत्पादित तरकारी मिलीजुली कृषि उत्पादक सहकारी संस्थाले बिक्री वितरण गर्ने भएको छ । बन्दाबन्दीका कारण सहकारीमार्फत तरकारी बिक्री वितरण गर्न गाह्रो भए पनि अब भने सहजरूपमा तरकारी बिक्री वितरण गर्न सकिने सहकारीका अध्यक्ष ईश्वरबाबु गौलीले जानकारी दिनुभयो । कृषकले उत्पादन गरेका तरकारी सहकारीमार्फत जिल्लामै बिक्री वितरणको व्यवस्था मिलाए पनि केही ठाउँमा तरकारी पसल सञ्चालकको अवरोधका कारण तरकारी बिक्री गर्न सकिएको थिएन । “बाहिरी जिल्लाबाट तरकारी आयात हुँदा यहाँ उत्पादित तरकारी बिक्री हुनसकेको थिएन, तर अब स्थानीय उत्पादनले बजार पाउने भयो”, गौलीले भन्नुभयो । यहाँका करीब ५०० भन्दा बढी कृषकले व्यावसायिकरुपमा तरकारी खेती गर्छन् । यस ठाउँमा अहिले उत्पादन अनुसारका बन्दा, काउली, फर्सी, लौका लगायतका तरकारी उत्पादन भइरहेको छ । गौलीका अनुसार आँबुखैरेनी गाउँपालिकाका कृषकले उत्पादन गरेको तरकारी सहकारीले खरिद गर्ने र सहकारीले जिल्लाभर तरकारी बिक्री वितरणको व्यवस्था मिलाउनेछ । कृषकले उत्पादन गरेको तरकारी सहकारीले खरिद गरेर होलसेल मूल्यमा रु १० भन्दा बढी वृद्धि नगरी खुद्रा बिक्री वितरण गर्ने सहमति भएको छ । लौका प्रतिकिलो रु ४५, काक्रो रु ३५, सिमी रु ५०, घिरौला रु ७५, फर्सी गोलो रु ३५, फर्सी लामो रु २५, करेला रु ७५, बन्दा रु ३०, भेन्टा लोकल रु ५०, चिचिण्डो रु ७५ मा विक्री वितरण गरिनेछ । साढे दुई किलोभन्दा बढी तरकारी खरिद गर्ने उपभोक्तालाई तरकारी खरिदमा सहुलियत प्रदान गरिनेछ । २१ जना एकान्तबासमा यहाँको दुई स्थानीय तहले निर्माण गरेका एकान्तवासमा २१ जनालाई राखिएको छ । बन्दाबन्दीका क्रममा देशका अन्य जिल्लाबाट यहाँ भित्रिएका उनीहरुलाई शुक्रबारदेखि एकान्तवासमा राखिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीका क्रममा जिल्ला भित्रिने सबैलाई एकान्तवासमा राख्न स्थानीय तहलाई निर्देशन दिएको थियो । सोहीबमोजिम भानु नगरपालिका–४ खातीथोकमा ११ र व्यास नगरपालिका–४ स्थित दमौलीमा १० जनालाई एकान्तवासमा राखिएको हो । भानु नगरपालिका–४ स्थित शान्ति निम्न माध्यमिक विद्यालयमा निर्माण गरिएको एकान्तवासमा छ पुरुष र पाँच महिला गरी ११ जनालाई राखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । तीमध्ये एक बालकसमेत छन् । बन्दाबन्दी भएसँगै बाँकेको कोहलपुरबाट चार, काठमाडौबाट छ र वीरगञ्जबाट एक खातीथोकमा आइपुगेका थिए । उनीहरु सबैजना घरमा नै बस्न खोजेपनि कम्तीमा १४ दिन एकान्तवासमा बस्न उनीहरुलाई व्यवस्था मिलाएको भट्टराईले जानकारी दिनुभयो । “एकान्तवासमा बसेको अवधिमा उनीहरुलाई खानाको व्यवस्था वडा कार्यालयले मिलाउनेछ”, भट्टराईले भन्नुभयो, “एकान्तवासमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था पनि परीक्षण गरिनेछ ।” त्यस्तै १० भारतीय नागरिकलाई पनि व्यास नगरपालिकाले शुक्रबारदेखि नै एकान्तवासमा राखेको छ । दमौली बजारमा प्लाष्टिकका भाडा बिक्री वितरण गर्दै आएका उनीहरुलाई व्यास नगरपालिका–४ स्थित मदरसा आधारभूत विद्यालयमा निर्माण गरिएको एकान्तवासमा राखिएको हो । दुई दिन अगाडि दमौलीबाट सवारी खोजेर घर जान लागेका उनीहरुलाई कोशी व्यारेजबाट फिर्ता पठाइएको थियो । फिर्ता भएर आएका उनीहरुलाई १४ दिन एकान्तवासमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । “उनीहरु पहिला पनि व्यास नगरपालिका–४ मै बसोबास गर्ने गरेका रहेछन्”, अधिकारीले भन्नुभयो, “सोही वडामा निर्माण गरिएको एकान्तवासमा उनीहरुलाई राखिएको छ ।” व्यास नगरपालिका–४ का वडा सदस्य बसुन्धरा घर्तीले एकान्तवासमा राखिएका उनीहरुलाई वडामार्फत खाद्यान्न सहयोग गरिएको जानकारी दिनुभयो । यसअघि सिराहाबाट बन्दीपुर गाउँपालिका आएका चार जना पनि एकान्तवासमा छन् । बन्दीपुर गाउँपालिका–४ टुँडीखेलस्थित रत्नज्योति निम्न माध्यमिक विद्यालयमा निर्माण गरिएको एकान्तवासमा श्रीमान्, श्रीमती र दुई छोरा छन् । जिल्लाका १० स्थानीय तहमा १८१ श्यया क्षमताको एकान्तवास बनाइएको छ । चैत १ गतेदेखि विदेशबाट फर्किनेको सङ्ख्या ८४३ पुगेको छ । भानु नगरपालिकामा ९०, व्यास नगरपालिकामा २०२, म्याग्दे गाउँपालिकामा ४३, शुक्लागण्डकी नगरपालिकामा १२४, भीमाद नगरपालिकामा १२५, घिरिङ गाउँपालिकामा ७०, ऋषिङ गाउँपालिकामा १०३, देवघाट गाउँपालिकामा ३७, बन्दीपुर गाउँपालिकामा २३ र आँबुखैरेनी गाउँपालिकामा २६ जना विदेशबाट आएका छन् । ती सबै घरमै छन् । युवक मृत्यु प्रकरण : प्रहरीले लिन मानेन किटानी जाहेरी तनहुँको भानु नगरपालिका–१ भन्सारका २१ वर्षीय प्रवीण गुरुङको हत्या भएको भन्दै किटान जाहेरी दिइए पनि प्रहरीले जाहेरी लिन नमानेको पीडित परिवारले जनाएका छन् । यही वैशाख ९ गते रातिदेखि हराएका गुरुङ भानु नगरपालिका–५ नावरुङस्थित खोल्सामा गतबिहीबार मृत फेला परेपछि पीडित परिवारले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा १६ जनाविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन नमानेको मृतकका बुबा बुद्धिराज गुरुङले जानकारी दिनुभयो । सामान्य भनाभनको निहुँमा युवाहरुबीच झडप भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कमा १६ जनालाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!