बिहिबार, बैशाख ११, २०७७ || 643  पटक पढिएको

हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विपन्न परिवारलाई राहत वितरण गर्दा तस्वीर खिच्न प्रतिबन्ध लगाएको छ । तस्वीर खिचाएर सामाजिक सञ्जालमा राख्ने होडबाजी नै चलेको समयमा नगरपालिकाले तस्वीर खिच्न प्रतिबन्ध लगाएको हो । लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई उनीहरुको वडामै लगेर राहत सामग्री वितरण गर्न स्वयं वडाध्यक्षलाई जिम्मा दिइएको नगरप्रमुख इवन राईले बताउनुभयो । “दुई–चार छाक पुग्ने चामल र दुई पोका तेल बाँड्दै गरेको तस्वीर खिचाएर जनतालाई हैरान बनाउनु हुँदैैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले दिने राहतले उनीहरुको गर्जो टर्ने पनि होइन । थोरै सामग्री दिएर धेरै प्रचार गर्दा आफ्नो लोकप्रियता बढ्छ भन्ने सोच्नु गलत भएकाले तस्वीर खिच्न रोक लगाइएको हो ।” नगरस्तरीय समन्वय समितिको बैठकको निर्णयअनुसार विनियोजन गरिएको रु १२ लाख ५० हजार बजेटबाट खाद्यान्न खरिद गरेर बिहान–बेलुकाको छाक टार्न कठिन भएका परिवारलाई वितरण शुरु गरिएको जनाइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा राहत वितरण कार्यक्रम शुरु भएपछि स्थानीय बासिन्दालाई थोरै भए पनि सहज भएको पाइएको छ । गत वर्ष भएको लामो समयको खडेरीले खाद्यान्न अभाव भएपछि सो नगरपालिकाका अधिकांश युवापुस्ता दैनिक ज्यालादारी काम गर्न भारत गएका छन् । लामो समय भएको खडेरीका कारण सो नगरपालिकाका कतिपय किसानले मकै छर्नसमेत पाएका थिएनन् । मकै छर्ने समय गएपछि वर्षा हुँदा कतिपय किसानले असार लागेपछि मात्रै मकै छरे तर उत्पादन राम्रो भएन । जिल्लाको प्रमुख बालीका रूपमा लगाइने मकै छर्ने समयमा नगरपालिकाले मकैको बीउ खरिद गरेर खडेरी पीडित किसानलाई निःशुल्क वितरण शुरु गरेको छ । नगरपालिकाको हावापानी सुहाउँदो ठाउँबाट खरिद गरेर ल्याइएको मकैको बीउ ११ वटै वडाका किसानलाई निःशुल्क वितरण शुरु गरिएको जनाइएको छ । खडेरीका कारण जिल्लाकै सबैभन्दा बढी प्रभावित भएको सो नगरपालिकाका स्थानीय बासिन्दाका लागि यसअघि राहत अनुदानअन्तर्गत रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । नगरपरिषद्बाट विनियोजित रकमबाट चामल तथा दाल खरिद गरेर वितरण गर्ने काम भइरहेको जनाइएको छ । गत वर्षको खडेरीले जिल्लाका १० वटै स्थानीय तहमा असर गरेको थियो । खडेरीका कारण गत वर्ष अधिकांश स्थानीय तहमा ५० प्रतिशत मात्र खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताउनुभयो । सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सामग्री दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरक्षाकर्मी र सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ । नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तथा समाचार सङ्कलन एवं प्रसारणमा खटिएका सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि प्रयोग गरिने पिपिइ, मास्क, स्यानिटाइजर, सोडियम क्लोराइडलगायतका स्वास्थ्य सामग्री बुधबार प्रदान गरेको हो । नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्यले सङ्कटका घडीमा पनि टेलिभिजन, रेडियो, अनलाइन र राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाका सञ्चारकर्मी जोखिम मोलेर भए पनि समाचार सङ्कलन एवं प्रसारण गरिरहेकाले उनीहरुको सुरक्षाका लागि सामग्री उपलब्ध गराइएको नगरप्रमुख रिजालले बताउनुभयो । जिल्लाका १० वटै स्थानीय तहले यसअघि नै आ–आफ्नो क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!