बुधबार, बैशाख १०, २०७७ || 937  पटक पढिएको

अनुमति लिएरै शिकार खेल्न पाइने ढोरपाटन शिकार आरक्षमा लकडाउन हुँदैन थियो भने विदेशी साहसिक शिकारीले अहिले नाउर र झारलको शिकार गरिरहेका हुन्थे । विडम्बना, कोभिड–१९ कारण नेपाल सरकारले गरेको लकडाउनका कारण यस वर्षको दोस्रो शिकार याममा शिकार खेल्न थालिएको १० नाउर र पाँच झारलको अनुमतिमै सीमित हुन पुगेको छ । चैतवैशाखको दोस्रो शिकार याम शुरु हुने क्रममा कोरोनाका कारण अन्तरराष्ट्रिय उडानसमेत ठप्प हुँदा शिकार अनुमति पाएका ६ शिकार कम्पनीले शिकार खेल्न नपाएको ढोरपाटन शिकार आरक्षको कार्यालय बागलुङले जनाएको छ । शिकार एजेन्सीले १० नाउर र पाँच झारलको शिकार गर्नका लागि ठेक्कामार्फत अनुमति पाएर कुल राजश्वकोे तीन प्रतिशत धरौटी रकमसमेत बुझाइसके पनि कोरोनाका कारण दोस्रो याममा कुनै पनि नाउर र झारलको शिकार नभएको आरक्ष कार्यालयका सूचना अधिकारी रमेश यादवले जानकारी दिनुभयो । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र वैशाखमा मात्र शिकार अनुमति दिँदैआएको छ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षलाई विश्वका साहसिक शिकारीले आफ्नो प्रमुख गन्तव्यका रुपमा मान्दै आए पनि कोरोनाका कारण सुनसान भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र प्रक्रियाबाट ६ शिकार कम्पनीले शिकारी पठाउने जिम्मा पाएको भए पनि कोरोनाका कारण शिकारी नआएपछि शिकार रोकिएकोे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । “हामीले दोस्रो सिजन चैत्र र वैशाखका लागि १० नाउर र ५ झारलको शिकार अनुमति दिएका थियौंँ”, उहाँले भन्नुभयो “कोरोनाको सन्त्रासका बीच विदेशी शिकारीले शिकार अनुमति प्राप्त गरे पनि शिकार हुन नसकेको हो ।” श्रेष्ठका अनुसार शिकार अनुमति पाएका कम्पनीलाई आर्थिक वर्ष २०७७÷०७८ को पहिलो याममा नै शिकार खेल्न दिने कि धरौटी फिर्ता गर्ने भन्ने विषयमा विभागमा छलफल भइरहेको छ । विभागका अनुसार विश्वभर कोरोना फैलिन थालेका कारण बोलपत्र आह्वान गर्दा कम राजश्वमा कम्पनीले शिकार अनुमति प्राप्त गरेका थिए । यसअघि एक नाउर र झारललाई बढीमा रु १२ लाख राजस्व बुझाएका कम्पनीले यस याममा एक नाउर र झारलको बढीमा करीब रु एक लाख ७५ हजारमा मात्र बोलपत्र स्वीकृति पाएका थिए । विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्नका लागि अमेरिका, रुस, स्पेनलगायत विकसित मुलुकका शिकारी आउने गर्छन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी आउने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ । सरकारले विसं २०४२ मा शिकार आरक्ष स्थापना गरेपछि शिकारका लागि अनुमति प्रदान गरिँदै आएको छ । शिकारमा विदेशी पर्यटकको आकर्षण बढ्दै जान थालेको थियो । विश्वमा वैधानिक रूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि विश्वमा प्रख्यात शिकारीले नेपालको ढोरपाटन शिकार आरक्ष मुख्य गन्तव्यका रुपमा लिने गरेका छन् । पन्ध्र दिनको शिकार अनुमतिसहित शिकार गर्न आउने शिकारी पर्यटकले आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा भाले नाउर वा झारलको मात्र शिकार गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!