शनिबार, बैशाख ०६, २०७७ || 804  पटक पढिएको

झापाको अर्जुनधारा नगरपालिका–५ निवासी ज्ञानबहादुर भारतीले ३५ बिघा क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्तित हुनुहुन्छ । उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट (लाक्रा) सुक्न थालेसँगै उहाँमा चिन्ता थपिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन लम्बिँदै जाँदा आफूले उत्पादन गरेको ग्यामेरा प्रजातिको जुस बनाउने उखु बिक्री गर्न नपाएको भारतीले बताउनुभयो । “उखु काट्ने समयमा एक महिनासम्म बन्द हुँदा उखुका लाक्रा खेतमै सुके”, उहाँले भन्नुभयो, “३५ बिघा क्षेत्रफलमा लगाएको उखु काटेर फाल्न पनि अब सक्ने अवस्था रहेन, लकडाउनले मजदुरसमेत पाइँदैन ।” “उखुखेतीबाट झण्डै रु ४० लाख आम्दानी गरौँला भन्ने थियो । अब त आस हराउँदै गयो, अझ दुई चारदिन लकडाउन लम्बिने हो भने उखु बारीमा आगो छाड्दा हुन्छ”, भारतीले भन्नुभयो । उखुखेतीका लागि रु ३०÷३५ लाख लगानी भएको छ, अब लगानी कसरी उठाउने उहाँले दुखेसो पोख्नुभयो । लामो समयदेखि व्यावसायिक उखुखेती गर्दै आउनुभएका भारती झापामा जुस बनाउने उखुखेती गर्ने पहिलो कृषकका रूपमा चिनिनुहुन्छ । उहाँले विसं २०४८ अघिदेखि उखुखेती गर्दै आउनुभएको हो । जुसका लागि उहाँले उत्पादन गरेको उखु झापाका बजारसहित काठमाडौँ, पोखरासम्म पुग्ने गरेको थियो । तर, लामो समयसम्म मुलुक लकडाउन हुँदा उहाँले समयमा उखु बिक्री गर्न सक्नुभएन । अर्जुनधाराकै कतिपय कृषकले समयमा उखु बिक्री गर्न नसकेर बगानमै आगो लगाएको भारतीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!