मंगलबार, पौष ०१, २०७६ || 4204  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष १। सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो । जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइरहेका थिए । वरिष्ठ अभिनेता केशव भट्टराईले अभिनेता दीपक क्षत्रीको श्रद्धाञ्जली सभा बोर्डको प्रांगणमा गर्ने निर्णय आइतबार मात्र गरेका थिए ।

‘दीपक दाइको पूर्ण सम्मानसाथ आर्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गरिनुपर्छ’ भन्दै बोर्ड अध्यक्ष भट्टराईले आइतबार दिउँसो मात्र बजेट पास गरेका थिए । चिता बनाउनेदेखि सम्पूर्ण तयारीका लागि उनले जिम्मा दिएका थिए । दीपक क्षत्रीका लागि उनले तय गरेको स्थानमा सोमबार भट्टराईकै श्रद्धाञ्जली सभा आयोजना गरियो । अर्को दुःखद संयोग के भने दीपक क्षत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो ।

अभिनेता क्षत्रीको पनि भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो । अभिनेता क्षत्रीको श्रद्धाञ्जली र अन्त्येष्टि सम्मानपूवर्क गर्ने तयारीको जिम्मा बोर्डका कर्मचारीलाई दिएका अभिनेता भट्टराई आफैं सो श्रद्धाञ्जली र अन्त्येष्टिमा मलामीका रूपमा सहभागी हुनेवाला थिए । तर, दुर्भाग्य अभिनेता क्षत्रीको चितासँगै भट्टराईको चिता पनि सोमबार बेलुका जल्यो । जुन कुरा भट्टराईले कल्पनासमेत गरेका थिएनन् । भट्टराईको आइतबार बेलुका हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग बैठक सकेर बोर्ड सदस्य नरेन्द्र महर्जनको कीर्तिपुरस्थित घरमा उनी बेलुका ७ बजे पुगेका थिए । महर्जनका बुबाको ६ महिनाको पुण्यतिथिको प्रसाद खाएर घर फर्केका उनी घर पुग्दा गाडीमै बेहोस भएका थिए । १४ वर्षीय छोरा बेडु र चालकले भट्टराईलाई चावहिलको ओम अस्पताल पु¥याउँदा उनको निधन भइसकेको थियो । बेलुका सवा १० बजे अस्पतालले उनको निधन भएको पुष्टि ग¥यो ।

भट्टराईले डेढ दशकदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । आइतबार राति उनको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखेर सोमबार दिउँसो १ बजे अस्पतालबाट अन्तिम दर्शनका लागि बोर्डमा ल्याइएको हो । काठमाडौंको डिल्लीबजारस्थित कोठामा शनिबार दिउँसो मृत्य भेटिएका ५८ वर्षीय अभिनेता क्षत्रीको हृदयघातबाट निधन भएको पोस्टमार्टमबाट पुष्टि भएको छ ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोर्डमा पुगेर सरकारका तर्फबाट दुवै अभिनेताप्रति श्रद्धाञ्जली अर्पण गरे ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराईसँगै वरिष्ठ अभिनेता क्षत्रीप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यस्तै, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलगायत विभिन्न चलचित्रकर्मीसँगै शुभचिन्तकले अभिनेता भट्टराई र क्षत्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे । नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले बोर्डका अध्यक्ष एवं जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्यसमेत रहेका भट्टराईलाई नेकपाको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । दागबत्ती दिने क्रममा नेपाल प्रहरीले सरकारका तर्फबाट सलामीसहित राष्ट्रिय सम्मान अर्पण गरे ।

त्यस्तै, जनसांस्कृतिक महासंघका सहसंयोजक सरल सहयात्रीले भट्टराईको पार्थिव शरीरमा महासंघको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।दिवंगत भट्टराईका एक छोरा बिडु भट्टराई र श्रीमती नीता भट्टराई छन् । वरिष्ठ अभिनेता क्षत्रीको परिवारमा श्रीमती विपना थापा (कलाकार), छोरी रिस्ता थापा (नायिका) र छोरा छन् । अभिनेता भट्टराई र क्षत्री दुवैले २०४५ को दशकबाट अभिनय यात्रा सुरु गरेका हुन् । राजधानी दैनिकमा खबर छ । – ओएस नेपालबाट ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!