बिहिबार, बैशाख ०४, २०७७ || 687  पटक पढिएको

पाँच दिनअघि पोखराबाट पैदल यात्रा सुरु गर्दा खुसीराम चौधरी बाटामा खाना नमिल्ने र दुःख पाइनेमा जानकार थिए । यस्ता समस्या झेल्दै उनी मंगलबार बिहान ४ बजे रूपन्देही आइपुगे । त्यही बेला उनले हजुरबुबा जुगरामको मृत्युको खबर सुने । उनी तत्कालै घर पुग्न चाहन्थे । केही उपाय लागेन ।

काठमाण्डौबाट नौ दिनदेखि हिड्दै आएका कैलाली र कञ्चनपरका मजदुरहरु दाङको लमहीमा । तस्बिर : दर्गालाल केसी/कान्तिपुर

‘खुट्टाको दुखाइ कम हुँदै जाला तर अहिले मन धेरै पोलेको छ,’ बुधबार उनले भने, ‘के भन्नु र। केही कुरा छैन।’ मंगलबार घरबाट निरन्तर फोन आयो। जसरी पनि आइपुग्नु मात्रै भनियो। अन्ततः कुराकानी गर्दागर्दै मोबाइलको ब्याट्री सकियो। त्यसपछि के भयो उनलाई थाहा छैन।
कैलालीको टीकापुर नगरपालिका–१, शक्तिनगरको मुक्तकमैया शिविरस्थित घरमा उनकी आमा, श्रीमती, भाइ र एक वर्षका छोरा बस्छन्। बुबाको चार वर्षअघि नै मृत्यु भइसकेको छ। त्यसैले हजुरबुबाको अन्त्येष्टिमा पुग्न दबाब थियो। बुधबार दिउँसोसम्म उनी दाङमै थिए। अझै कति दिनमा घर पुगिने हो, थाहा छैन। मुक्तकमैया परिवार भएकाले पर्याप्त जग्गाजमिन छैन। उनका हजुरबुबा र बुबाले कमैया बसेरै जीवन बिताए। उनले भने मजदुरी रोजे।

घर निर्माणका काममा मजदुरी गर्न तीन महिनाअघि पोखरा गएका थिए। ‘लकडाउन सकिएपछि जाउँला भन्दाभन्दै धेरै दिन बित्यो,’ उनले भने, ‘भएको खाएर सकियो।’ त्यसपछि १५ जना साथीहरूसँग पैदल यात्रा थाले। संकटका बेला उनी पूर्व–पश्चिम राजमार्गमा भोकभोकै हिँडिरहेका छन्।

टीकापुर–६ नारायणपुरका २९ वर्षीय विजय चौधरी पनि खुसीरामसँगै यात्रामा छन्। काम रोकिएपछि घर फर्किन थालेका हुन्। उनको पनि जग्गा छैन। अधियाँमा खेती लगाउँछन्। खेतीपाती सकेर काम खोज्न जान्छन्। बाली भित्र्याउने बेला घर फर्किन्छन्। गहुँ भित्र्याउने यो बेला घरमा कोही छैन। ‘गहुँ सुकेर बारीमै झर्न थाल्यो रे,’ उनले दुखेसो सुनाए, ‘बुढा बा–आमा कतिबेला पुग्छौ भन्दै रुन्छन्। आफ्नो हालत यस्तो छ।’

उनका तीनै भाइ मजदुरी गर्छन्। दुई भाइ काठमाडौंमा थिए। कान्छो भाइ आशाराम १० दिनअघि काठमाडौंबाट हिँडेका हुन्। अहिलेसम्म सम्पर्क भएको छैन। मोबाइल स्विच अफ छ। माइलो भाइ उतै छन्। उनी खर्च नभएर काठमाडौंमा रोकिएका हुन्। ‘कतिबेला घर पुगुँलाजस्तो भएको छ,’ केहीको मौनतापछि उनले भने, ‘मन आत्तिएर नहुने।’

कोरोनाभन्दा घरको सुर्ताले ज्यान जाने अवस्था आएको उनले बताए। ‘कोरोनाको के कुरा, हिँडेरै मर्ने अवस्था भइसक्यो,’ उनको आवाजमा आक्रोश मिसिएको स्पष्ट हुन्थ्यो। बाटामा भेटिएका नेताहरूलाई ‘घर जाने व्यवस्था गरिदेऊ’ भन्दा कसैले नसुनेको उनले बताए।

उनीहरू जस्तै मजदुरी गरेर गुजारा चलाउने धेरै अहिले घर फर्कने क्रममा छन्। लकडाउनका कारण लामो दूरी हिँडेर कटाइरहेका छन्। बाटामा खाने, बस्ने व्यवस्था छैन। भोकभोकै हिँडिरहेका मजदुरका मन दुख्ने भोगाइ छन्। बर्दियाको ठाकुरबाबा–५, बगनाहाका ५० वर्षीय रामप्रसाद थारू पोखराबाट पाँच दिन हिँडेर बुधबार दिउँसो लमहीस्थित अर्जुनखोला आइपुगे। उनका साथमा खानेकुरा केही थिएन। भोकै हिँडिरहेका बेला सानो होटल खुलेको देखे।

चाउचाउ पकाइदिन अनुरोध गरे। होटल सञ्चालकले प्याज काटेर चाउचाउ पकाउन सुरु गरिन्। त्यही बेला एक पुरुष आएर ‘बटुवालाई खुवाउने होइन, खतरा हुन्छ’ भन्दै पकाउने सामान खोसे। अनि ढोका बन्द गरे। ‘यस्तो भएपछि कसको मन दुख्दैन,’ रामप्रसादले भने, ‘अपमान सहेर हिँडिरहेका छौं।’ रोगले भन्दा भोकले मर्ने दिन आएको बताएपछि उनले थप केही बोल्न चाहेनन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!