प्रदेश नं. १ का प्रदेशसभा सदस्य सीता थेबे कोभिड–१९ सङ्क्रमणको जाँचका लागि रेपिड डाइग्नोष्टिक टेष्ट टोली लिएर पाँचथरमा रहेका क्वारेन्टाइनमा पुग्नुभएको छ । गत चैत १ गतेयता विदेशबाट फर्केर क्वारेन्टाइनमा रहेका तथा विगतमा क्वारेन्टाइनमा बसिसकेका व्यक्तिमा कोभिड–१९ सङ्क्रमणको जाँचका लागि स्वास्थ्यकर्मीको टोली लिएर उहाँ यहाँका चार क्वारेन्टाइनमा पुग्नुभएको हो । प्रदेश नं १ सरकारले शनिबार पाँचथरका लागि २०० थान आरडिटी किटसहित स्वास्थ्यकर्मीको टोली पठाएको थियो । कोरोना भाइरस सङ्क्रमणको सन्त्रासले सम्भावितको परीक्षण गर्न डराइरहेका स्वास्थ्यकर्मीलाई हौसला दिन प्रदेशसभा सदस्य थेबे आफैँ क्वारेन्टाइनमा पुग्नुभएको हो । प्रदेशसभा सदस्य थेबे स्वास्थ्यकर्मीको टोली लिएर फिदिम नगरपालिका तथा हिलिहाङ र फालेलुङ गाउँपालिकाका क्वारेन्टाइनमा पुग्नुभएको थियो । यस क्रममा फिदिम बजारस्थित फिदिम माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका आठ, फालेलुङको पाथीभरा कृषि सहकारीको भवन र पञ्चमुखी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका १३ तथा हिलिहाङको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा रहेको क्वारेन्टाइनमा रहेका २४ जनाको रेपिड डाइग्नोष्टिक टेष्ट गरिएको थियो । परीक्षणबाट उनीहरु सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय तथा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी सम्मिलित परीक्षण टोलीलाई हौसला दिन थेबे व्यस्त रहनुभयो । “सङ्क्रमणको सन्त्रासले हामी आफैँ पनि असुरक्षित महसुस गरिरहेका थियौँ तर माननीयज्यू आफैँ हामीलाई लिएर हिँडेपछि ढुक्कले काम गर्न पाइयो”, परीक्षण टोलीमा रहनुभएा स्वास्थ्यकर्मी प्रमोद गौतमले भन्नुभयो । जनप्रतिनिधिबाट यस प्रकारको सहयोग सबै जिल्लामा प्राप्त हुन सके प्रदेश सरकारको लक्ष्यानुसार पहिलो चरणमा द्रुत गतिमा रेपिड डाइग्नोष्टिक टेष्ट सम्पन्न गर्न मद्दत पुग्ने गौतमको भनाइ छ । क्वारेन्टाइनमा दुई साता बिताएर घर फर्केका व्यक्तिलाई परीक्षणका लागि पुनः तयार पार्न सांसद् तथा जनप्रतिनिधिको उपस्थितिले ठूलो सहयोग पुगेको हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले बताउनुभयो । पाँचथरमा शनिबारदेखि शुरु भएको आरडिटी आज सम्पन्न हुँदैछ । “सबैमा सङ्क्रमणको भय छ । स्वास्थ्यकर्मीहरु आफैँ डराइरहनुभएको पाएपछि उहाँहरुलाई साथै लिएर क्वारेन्टाइनहरुमा पुगेकी हुँ”, थेबेले भन्नुभयो, “स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हौसला बढाए मात्र यो महामारीबाट बच्न सकिन्छ ।” स्वास्थ्यकर्मी भई सेवा गरेवापत आफूलाई अत्यन्तै खुशी लागेको फालेलुङ गाउँपालिकाको क्वारेन्टाइनमा खटिनुभएका स्वास्थ्यकर्मी धनकुमारी राईले बताउनुभयो । पाँचथरमा स्वास्थ्यकर्मीका दुई टोलीले शनिबार, आइतबार र सोमबार शीघ्र परीक्षण गरिरहेको छ । एक टोलीलाई थेबेले अगुवाइ गर्नुभएको थियो भने अर्को टोली स्थानीय जनप्रतिनिधिको सहयोगमा शीघ्र परीक्षणमा खटिएको छ । आइतबार साँझसम्म जिल्लामा विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका, विगतमा दुई हप्ता क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा रहेका तथा उनीहरुको सम्पर्कमा आएका ७९ जनाको शीघ्र परीक्षण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!