
काठमाडौँ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकमा राजनीतिक वातावरण बन्दै गएको बताएका छन् । निर्वाचन आयोगले प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि आज आयोजना गरेको ‘मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठी’मा उनले मुलुकमा निर्वाचनको वातावरण बन्दै गएकाले निर्धारित समयमै निर्वाचन हुने बताए ।

“भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेको छ, निर्वाचन आयोगसँगको निरन्तर छलफलपछि निर्वाचन गराउने वातावरण निर्माण भएको हो,” उनले भने । उनले जेनजी आन्दोलनपछि सुरक्षाकर्मी चप्पल र सादा पोशाकमा कार्यस्थलमा खटिएको स्मरण गर्दै गिरेको प्रहरीको मनोवल उठाउन सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।
मन्त्री सिन्हाले जेनजी पुस्ताले राखेको माग संविधान संशोधनमार्फत पूरा हुने भन्दै संविधान संशोधनको एकमात्र विकल्प निर्वाचन भएको बताए । उनले कठिन परिस्थितीमा राष्ट्रपतिले आफूहरूलाई निर्वाचन गराउने जिम्मेवारी सुम्पिएको बताउँदै उक्त जिम्मेवारीलाई समयमै पूरा गर्न वर्तमान सरकार दृढताका साथ लागेको उल्लेख गरे ।