
भोजपुर । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुरबाट सचिव शेरधन राईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले राईलाई एकमात्र उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो।

जिल्ला कमिटीका अनुसार राईको विकल्पमा अर्को बलियो उम्मेदवार नदेखिएकाले उनको नाममा सर्वसम्मत सहमति जुटेको हो। यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरिसकेको एमालेले प्रत्यक्षतर्फ भने पूर्वमुख्यमन्त्री राईलाई नै मैदानमा उतार्ने निश्चित गरेको छ।
भोजपुरबाट सिफारिस भएका राईले यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री र कोशी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। निर्वाचनको तयारी तीव्र भइरहेका बेला काठमाडौँमा आजै बसेको एमाले सचिवालय बैठकले राईलाई कोशी प्रदेश संयोजकको महत्त्वपूर्ण जिम्मेवारी समेत सुम्पेको छ।