‘वर्षभरि अलिअलि गरेको बचत र छरछिमेकसँग सापट मागेको पैसा छोराको उपचारमै सिद्धियो,’ रिक्सा चलाएर गुजारा गर्दै आएका बाबु राजेशले भने, ‘लास जलाउन कात्रो र दाउरा किन्ने पैसा नहुँदा निकै दु:ख लागेको छ।’ अस्पतालमा चिकित्सकले एक्सरे लगायतका जाँच गरी पाइप लगाएर पिसाब गराइदिएपछि घर पठाइदिएको उनले बताए। ‘तर घर आएपछि राति पुनः पिसाब अड्किएर उसलाई गाह्रो भयो,’ राजेशले भने, ‘बिहीबार बिहान अस्पताल त लगियो तर बचाउन सकिएन।’
पंकजकी श्रीमती र ४ वर्षकी छोरी छिन्। पत्नी अनितादेवीले पति बिरामी भए पनि पैसा नभएर समयमा उपचार गराउन नसकेको गुनासो गरिन्। राजमिस्त्रीको काम गर्दै आएका पंकज लकडाउनदेखि घरमै बसिरहेका थिए। ‘बिरामी परेपछि सुरुमै उपचार गराउन जाऊँ भनेको तर छाक टार्नै धौधौ परिरहेका बेला कहाँबाट पैसा ल्याएर उपचार गराउने, आफै निको भइहाल्छ भन्नुभयो। सुरुमा जान मान्नुभएन,’ अनिताले भनिन्।
अस्पतालमा भर्ना गरेर उपचार गरिदिन चिकित्सकलाई आग्रह गर्दा भर्ना गर्न नमानेको उनको भनाइ छ। ‘घरमै लगेर राख्नु, निको भइहाल्छ भन्नुभयो,’ आँसु झार्दै उनले भनिन्, ‘अस्पतालमै राखेर उपचार गरेको भए ज्यान जोगिने थियो। तर के गर्ने हामीजस्तो निमुखाको भगवान्को अर्को रुप भनिने चिकित्सकले पनि कुरो सुनिदिएनन्।’ स्थानीय निरु कामतले चिकित्सकले बेवास्ता गर्दा उनको मृत्यु भएको आरोप लगाइन्। ‘भर्ना गरेर उपचार गरिदिनुस् भनेर आग्रह गर्दा समेत चिकित्सकले मानेनन्,’ उनले भनिन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले ओपीडी र शल्यक्रिया सेवासमेत सञ्चालनमा रहेकाले भर्ना लिन कुनै समस्या नभएको बताइन्। ‘पंकजको सवालमा किन भर्ना गरिएन र अवस्था कस्तो थियो भन्नेबारे जानकारी भएन,’ उनले भनिन्, ‘किन भर्ना गरिएको रहेनछ हामी छानबिन गर्छौं।’
पंकजको आर्थिक अवस्थाबारे जानकारी भएपछि प्रदेश १ का प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दिउँसो कात्रो र दाउरा किन्न १० हजार रुपैयाँ सहयोग जुटाइदिएका छन्। ‘अब बेलुकासम्म दाहसंस्कार हुन्छ होला,’ कामतले भनिन्। राजेशका कान्छा छोराको पनि करिब ५ वर्षअघि उपचार अभावमै मृत्यु भएको थियो।
-कान्तिपुर पत्रिकामा बिराटनगरबाट देबनारायण शाहले लेखेको समचार