बुधबार, चैत्र २६, २०७६ || 1557  पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटले आफ्नो वडाभित्र कोरोना भाइरसका कारण गरिएको लकडाउनले समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण शुरु गरेको छ । मङ्गलबार बगरफाँट र खबरामा वडाध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुवँर र वडासचिव राजाराम शर्मा सापकोटालगायत राजनीतिक पार्टीका प्रतिनिधिहरुले राहत वितरण गरेका हुन् । ज्यामरुककोटमा लकडाउनका कारण आयस्रोत गुमेर प्रभावित भएका पहिलो चरणमा ८९ परिवार राहतका लागि छनोट भएका वडाअध्यक्ष थापाले जानकारी दिनुभयो । उनीहरुले वडा कार्यालयमा दिएको आवेदनपछि वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अगुवाहरुको बैठकले राहत पाउने छनोट गरेपछि राहत वितरण शुरु गरिएको उहाँले बताउनुभयो । प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, दुई पोका नुन, चार पोका तेल, दुई केजी चिनी र चार वटा साबुनका दरले वितरण गरिएको छ । वडाका जनप्रतिनिधिहरुमार्फत टोलटोलमा पुगेर खाद्यान्न राहत वितरण गर्ने व्यवस्था मिलाइएको छ । म्याग्दीलगायत गण्डकी प्रदेशका सबै जिल्लामा यतिबेला गुहँ, तोरी थन्क्याउने, खेतबारीमा मकै छर्ने, तरकारी खेती गर्ने र चैतेधान रोप्न भ्याइनभ्याई हुने समय हो । विश्वव्यापीरुपमा फैलिएको कोरोना सङक्रमणको रोगथामका लागि देशमा जारी लकडाउनका कारण कृषि ज्ञान केन्द्र, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले बेलैमा मल ढुवानी गर्न नसक्दा र किसानहरु घरबाट बाहिर निस्कने वातावरण नहुँदा लगाइएको बाली बिग्रन थालेको छ भने मकै छर्न र तरकारी लगाउन ढिलाइ भएको छ । म्याग्दीको मङ्गला गाउँपालिका सहस्रधाराका किसान राम पौडेलले १५ मुरी खेतमा लगाएको गहुँ पाकेर झर्न थालेको तर मकै छर्नका लागि मल नहुँदा छर्न ढिला भएको बताउनुभयो । कृषक पौडेललाई जस्तै यतिबेला जिल्लाका छ वटै स्थानीय तहका कृषकलाई खेतमा हाल्न युरिया मल र नाइट्रोजन चाहिएको छ । लकडाउनका कारण कृषकहरु घर बाहिर निस्कन पाएका छैनन् । किसानहरुले सबैतिर फोन सम्पर्क गर्दा कतै पनि युरिया मल नपाएको बताएका छन् । त्यसैगरी अर्का किसान रामबहादुर बानियाँले छ रोपनी खेतमा लगाएको तरकारी बालीमा समेत युरिया हाल्न नपाएको बताउनुभयो । यतिबेला बोडी, काँक्रा, सिमी, टमाटर, घिरौँला, करेलालगायत तरकारी लगाउने बेला हो । यो बेलामा मल नहाल्दा तरकारी नै नफल्ने भएकाले आफ्नो लगानी जोखिममा पर्ने उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले जिल्लामा युरियालगायतका मलको अभाव भएको र लकडाउनका कारण ल्याउन नसकिएको बताउनुभयो । “खेतीपातीको ‘सिजन’ शुरु भएको छ, मल, बिउलगायतका सामग्रही आएको छैन”, उहाँले भन्नुभयो, “लकडाउनका कारण घरबाट निस्कन नसकेर होला कृषकहरू पनि मल र बिउ चाहियो भनेर आउनुभएको छैन ।” जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले मकै छर्ने समय भइसकेकोले युरिया मल नपाएर छट्पटाइरहेको बताउनुभयो । “तरकारी लगाउने र मकै छर्ने समय भएको छ”, उहाँले भन्नुभयो, “कृषि ज्ञान केन्द्रमा न मल छ न मकैको बिउ नै, किसानहरु अन्योलमा परेर बसेका छौँ ।” म्याग्दीमा २१ हजार ६६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेकामा तीन हजार ८९५ हेक्टरमा धान, ११ हजार ११५ हेक्टरमा मकै, तीन हजार २० हेक्टरमा गहुँ, ८२० हेक्टरमा तरकारी र ६३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । –––

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!