सोमबार, चैत्र २४, २०७६ || 915  पटक पढिएको

यतिबेला कोरोना भाइरस सङ्क्रमणको त्रास मानवीय जीवनलाई निकै आतङ्कित पारिरहेको छ । दिनप्रतिदिन बढिरहेको सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्याले मानव अस्तित्वमै सङ्कट उत्पन्न भएको आँकलन गर्न थालिएको छ ।

यो अकल्पनीय र जोखिम अवस्थामा सेतो कोर्टधारी डाक्टरहरु आफ्नो जीवनको पर्वाह नगरी ज्यान बचाउनका लागि युद्धस्तरमा काममा खटिएको छन् । सामाजिक सञ्जालहरुमा अहिले छाइरहेको छ, “अचेल भगवान् मन्दिरमा होइन अस्पतालमा छन् ।”

देशभरि अहिले नौजनामा कोरोना सङ्क्रमण देखिएको छ । दुईजना गण्डकी प्रदेशको बागलुङ जिल्लाको आइसोलेशन वार्डमा उपचार गराइरहेका छन् । यस्तै जोखिम अवस्थामा आफूलाई होमेर बिरामीको सेवामा खटिएका भगवान्रुपी चिकित्सकको अनुभव के छ त ? यतिबेला उनीहरु कसरी काम गरिरहेका छन् भन्ने विषयमा राससले गरेको सङ्क्षिप्त कुराकानी ः

शैलेन्द्र विक पोखरेल
मेडिकल सुपरिटेन्डेन्ट धौलागिरि अञ्चल अस्पताल, बागलुङ

डाक्टर भएको नाताले बिरामीको सेवा नै पहिलो दायित्व हो । अहिलेको यो जोखिम अवस्थाले मनोवैज्ञानिक असर पनि उत्तिकै गर्ने रहेछ । पर्याप्त स्रोत र साधनबिना नै जोखिम मोल्नु भनेको हतियारबिना नै युद्ध मैदानमा होमिनु जस्तै हो । हामी उच्च मनोबल र दृढताका साथ कोरोना सङ्क्रमितको सेवामा जुटिरहेका छौँ । यो कठिन परिवेशमा सम्बन्धित निकायबाट निर्देशन दिने र बिरामीको सेवा नगरे कारवाही गर्ने जस्ता कुरा मात्र आएका छन् । बिरामीको सेवा गर्ने भनेर नै जीवनको महत्वपूर्ण समय यस क्षेत्रमा डाक्टरहरुले बिताएका छन् । यतिबेला कुनै पनि सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिबाट चिकित्सक एवं स्वास्थ्यकर्मीको मनोबल बढाएर कार्यक्षेत्रमा लाग्ने प्रेरणा दिइएको छैन । केवल धम्क्याए जस्ता निर्देशन आउने गरेका छन् ।

आजसम्म हजुरहरुलाई कस्तो छ, के सोचिरहनुभएको छ, के सामग्री आवश्यक छ, आफ्नो जीवनको पनि सुरक्षामा ध्यान दिनु भनेर कसैले भनेका छैनन् । जिम्मेवार व्यक्तिहरुबाट पनि मानवीयता देखिएको छैन । मनोवैज्ञानिक त्रास लिएर भए पनि सेवामा खटिएका छौँ ।

डा अर्जुन आचार्य निर्देशक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा

अहिलेको अवस्था विश्वमै स्वास्थ्य क्षेत्रमै चुनौतीको अवस्था हो । यसले डाक्टरमा पनि एक प्रकारको त्रास र भय पक्कै सिर्जना गरेको छ । हरेक मानवले आफ्नो सुरक्षा खोज्नु स्वाभाविक भएजस्तै डाक्टरले नि ‘प्रोटेक्सन’ खोज्छन् । त्यसको लागि राज्यले विश्वस्वास्थ्य सङ्गठनको मापदण्डलाई पालना गरेर स्वास्थ्यकर्मीको ‘प्रोटेक्सन’ र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने दायित्व रहन्छ । यदि सम्पूर्ण कुराको उपलब्ध भए चिकित्सक एवं स्वास्थ्यकर्मीले भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न सक्षम हुन्छन् । अहिलेको अवस्थामा डाक्टर नै जोखिममा रहेर उपचार गर्दा उसको परिवार पनि उत्तिकै जोखिममा हुने देखिन्छ । यस्ता कतिपय कुराले पनि चिकित्सक एवं स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर पर्नु स्वाभाविक हो । राज्यले पूर्णरुपमा चिकित्सक एवं स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ ।

डा प्रदीप श्रेष्ठ
फिजिसियन एवं संयोजक ¥यापिड रेन्पोन्स टिम
धौलागिरि अञ्चल अस्पताल, बागलुङ

विश्वभरि फैलिएको कोरोना सङ्क्रमणले स्वास्थ्यकर्मीलाई चिन्तित बनाएको छ । विश्वका अन्य मुलुकका दिनप्रतिदिन स्वास्थ्यकर्मीहरु सङ्क्रमित भएको र मृत्यु भएको समाचार पढिरहँदा र हेरिरहँदा कता कता डर सिर्जना हुन्छ । अहिले प्रदेशमा देखिएका दुई सङ्क्रमितलाई मेरो प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । एकजना सामान्य हुनुहुन्छ भने एकजना दम र प्रेसरका बिरामी हुनुहुन्छ, उहाँको स्वास्थ्य अवस्थालाई सामान्य बनाउन हाम्रो टोली लागिपरिरहेको छ ।

¥यापिड रेस्पोन्स टोलीको संयोजकसमेत भएको हुँदा पनि म ‘रिस्क’मा छु भन्ने लाग्छ । यहाँ व्यक्तिसँगको सवाल नभई कोभिड–१९ भाइरस डरलाग्दो रुपमा देखिएको छ, जसबाट जोगिन एकदम सतर्कता आवश्यक छ । पेशामाथिको चुनौती त छँदैछ, परिवारमा पनि जोखिम हुने सम्भावना उत्तिकै हुन्छ । यस्तो अवस्थामा बलियो मानसिकता बनाएर सेवामा लाग्नु विकल्प छैन ।

राज्यले यस्तो कठिन परिस्थितिमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउन आवश्यक भौतिक र नैतिक कुरामा जोड दिएर हौसला प्रदान गर्नुपर्छ ।

डा टुमाया घले
मेडिकल सुपरिटेन्डेन्ट, गण्डकी मेडिकल कलेज, पोखरा

अहिलेसम्म पोखरामा कोरानो भाइरसको सङ्क्रमण देखिएको छैन । पिसिआर मेसिनबाट नियमित नमूना सङ्कलन भइरहेको छ । हामी पूर्ण तयारी अवस्थामा छौँ । पर्याप्त पिपिईको उपलब्धता नहुँदा जोखिम देखिएको छ । सरकारले चिकित्सक एवं स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन भावनात्मक कुरालाई पनि जोड दिनुपर्छ । अहिलेको अवस्थाले चिकित्सक एवं स्वास्थ्यकर्मीलाई पनि हतोत्साही गराइरहेको छ । यो बेलामा पिपिईलगायत आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएर हौसला दिनुपर्छ । केवल सेतो कोटको परिभाषा दिएर मात्र पुग्दैन । हामी हाम्रो कर्तव्यबाट विमुख छैनौँ । राज्यले पनि आफ्नो दायित्व बिर्सनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!