आइतबार, चैत्र २३, २०७६ || 1014  पटक पढिएको

देश अहिले कोरोनाको महाविपत्तीमा छ । देशका कमाण्डर प्रधानमन्त्री ओछ्यान परेका छन् । उनको रुग्णताले देश संचालनमा गम्भिर समस्या खडा भएको छ । महत्वपूर्ण भूमिका खेल्नु पर्ने अहिलेको संगिन घडीमा उनी विरामी हुनु देश र जनताको लागि राम्रो होइन । तर विरामी पर्नु उनको इच्छित दोष र कार्य पनि त होइन । यद्यपी प्रधानमन्त्रीले आफु विरामी हुँदा देश नै विरामी नहोस भनेर विचार गर्नु पर्ने भने पक्कै हो । रोगलाग्नु विरामी हुनु मानवीय संम्वेदनाको बिषयबस्तु भएकाले धेरै अमानविय नबनौ । तर पनि प्रधानमन्त्रीका काम कारवाहीका सम्वन्धमा टिका–टिप्पणी, समर्थन र आलोचना गर्न पाउने नागरिकको अधिकार र खवरदारी रहन्छ । सगरमाथा भन्दा ठुला सपना बाढ्ने प्रधानमन्त्री र उनको टीमको जनताप्रतिको जवाफदेहिता शुन्य भएको छ । सरकारको क्रेडिविलिटी घटदो छ । मन्त्री वा सरकारका अन्य सदस्यले गर्ने सम्पूर्ण गुण र दोषको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको नै हुन्छ । अहिले स्वास्थ्य मन्त्री र उपप्रधानमन्त्री लगाएतले गरेको काम कारवाहीको जिम्मा प्रधानमन्त्रीले लिनु पर्छ । प्रधानमन्त्रीलाई भजाएर कतिपयले धन्दा समेत चलाएका छन् । प्रधानमन्त्रीलाई देशी विदेशी तत्वहरुले घेराबन्दीमा पारेर आफ्नो निहित स्वार्थ पूर्तिमा लागेका छन् त्यसलाई चिरेर प्रधानमन्त्री अगाडी बढन सक्नु पर्दछ । सरकारमा बसेर दलाली
गर्ने र भ्रष्टाचार गर्नेलाई तुरुन्त पदबाट बर्खास्त गर्नु पर्नेमा प्रधानमन्त्री उनीहरुको प्रवत्ता भएको देख्दा प्रधानमन्त्री माथी नै जनताले प्रश्न उठाएका छन् । देश अहिले लक डाउनको स्थितीमा छ । यो समस्या नेपालको मात्र होइन विश्वका दुई सय भन्दा बढी देशहरुको साझा
समस्या हो । विश्वभरी कोरोनाका कारण मानिसहरु विचलित छन् । नेपाल पनि यही अपठ्यारो स्थितिबाट गुज्रिरहेको छ । देशमा स्वास्थ्यको अवस्था अत्यन्त नाजुक छ । सरकारको काम प्रभावकारी देखिदैन । नीजि अस्पतालले खोकी लागेको वा पखाला चलेको सम्म उपचार गर्दैनन् । नीजि अस्पतालका आफ्नै समस्या होलान् । ति समस्या राज्यले किन सम्बोधन नगरेको ? राज्यको नियन्त्रणमा अस्पताल हुन्छ कि, अस्पतालको नियन्त्रणमा राज्य हुन्छ ? स्वास्थ्य मन्त्रालयले यस्ता साना साना समस्याहरुको व्यवस्थापन गर्न सकेको छैन । जसले गर्दा मानिसहरु काल नै नआई मरिरहनु परेको स्थिति छ । स्वास्थ्य मन्त्रालय चलाउने ठेक्का लिएका मन्त्री र सचिव लगाएतको कार्यदक्षता अत्यन्त कमजोर देखियो । चीनको बुहानमा सवै कर्मचारीहरु हटाएर नयाँ कर्मचारी ल्याएर कोरोना संक्रमण नियन्त्रण गर्न सफल भएको उदाहरण छ । त्यसबाट सिकेर यहाँ पनि स्वास्थ्य मन्त्री र सचिव लगायत आवश्यकता बमोजिम मन्त्रालयको पूरै टीम नै परिवर्तन गरी डाइनामिक मन्त्री र सचिव ल्याउनु पर्छ । कम्तिमा स्वास्थ्य मन्त्री र सचिव चाँही चिकित्सक पृष्ठभूमि कै हुनु पर्छ । चिकित्सा पढेको मान्छे मन्त्री र सचिव नभएर नै अहिलेको भयावह समस्या उत्पन्न भएको हो । आख्खुम, बाख्खुम, चाख्खुम जो सुकैलाई विना विज्ञताको व्यक्ति मन्त्री बनाउदा अहिलेको भानुभक्त ढकालको जस्तो अन्तराष्ट्रिय स्तरको बेइज्जत हुने स्थिती रहन्छ । यो कुरा पीएमले बुझ्नु पर्छ । सरकारको काम हेर्दा कतैबाट चित्त बुझाउने ठाँउ छैन । किने काम भएन भन्यो भने बुरुक्क उफ्रिन्छन् । जुन ढंगले यो संकटमा काम गर्नु पर्ने हो त्यो भएन । स्वास्थ्यकर्मीका लागि पीपीइ देखि कोरोना जाँच गर्ने किट सम्मको अभाव भयो ।

स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर नै काम गरे । सरकारी पक्षले स्वास्थ्य सामग्री ल्याउन षडयन्त्र र चर्तिकला ग–यो । अनेक ताण्डव पछि अत्यावश्यक स्वास्थ्य उपकरण र सामग्री त ल्यायो, तर काम नलाग्ने । पीपीइ कतिपय चिकित्सकले कम गुणस्तरिय भएकाले प्रयोग गर्न मानेनन् भने टेष्ट गर्ने किटको प्रभावकारिता माथी पनि सम्वन्धित पक्षबाट प्रश्नचिन्ह खडा भएको छ । सरकारले वाणिज्य विभागमा दर्ता नै नभएको नक्कली कम्पनीलाई विना प्रतिस्पर्धा अनेक नाटक र परिपञ्च गरेर सामान ल्याउन जिम्मा दियो । यसबाट नीतिगत भ्रष्ट्राचार भएको प्रष्ट हुन्छ सरकारले किनेका त्यस्ता समग्री चालु बजार मूल्यभन्दा धेरै नै गुणा मंहगो तिरेर ल्याएको छ । आकस्मिक रुपमा खरीद गर्दा केही मंहगो हुनु स्वभाविक भए तापनी अचाक्ली नै महगो छ । यसबाट कार्यगत, भौतिक र रकमी भ्रष्ट्राचार भएको पुष्टी हुन जान्छ । स्वास्थ्य मन्त्रालयले नियतबस जानाजान यो दुस्कर्म गरेको देखिन्छ । अहिले आएर चोखिनलाई त्यो सप्लायर्ससंगको सम्झौता रद्ध गरे भनेर कुकृत्यबाट उम्कन मिल्ले अवस्था रहदैन । र कानूनले छोडदैन । सक्षम र दक्ष व्यक्तिलाई मन्त्री बनाउनु पर्छ । प्रजातान्त्रिक शासन व्यवस्थामा साम्यबादी व्यवहार गर्ने मन्त्रीलाई जनताले छोडदैनन् । जनताको प्रश्न गर्ने हक छ । सरकारले त्यसको सामना गर्नु पर्छ । कोरोनाको बहानामा सरकारले लुटपाट गर्नु हुदैन । स्वास्थ्य मन्त्री यति निलज्ज, ग्रैर जिम्मेवार र असक्षम रहेछन् कि जनताको प्रश्नको सामना सम्म गर्न सक्दैनन् । कहिले घरमा पाहुना आए भन्छन कहिले उत्तर दिन आवश्यक ठान्दिन भन्छन् । के मन्त्रीले जनतासंग गर्ने व्यवहार यस्तै हो ? यस्ता अधोरी मन्त्री हुनु नेपालीको बिडम्बना हो । नेपालीको दुर्भाग्य हो । कोरोनारुपी महायुद्धमा देश छ । तर युद्धको पनि एउटा निश्चित नियम हुन्छ, मर्यादा हुन्छ, अनुसासन हुन्छ । युद्धमा पनि कमाण्डरले होस गुमाउदैन । शासकले होस गुमाउनु हुदैन । यस्तो बिषम परिस्थितीमा पनि होस नगुमाई जनताको पक्षमा काम गर्नु चाँही शाससको सफलता हो । यस्तै अपठरोले नै राजनेता जन्माउने हो । सरकारमा व्यक्ति परिवर्तन भए, प्रवृत्ति परिवर्तन भएन । शासक परिवर्तन भए, संस्कार परिवर्तन भएन । फलस्वरुप पुरानो मानसिकता बोकेका नयाँ राजाहरुबाट जनताले केही राम्रो होला भनी सोच्नु नै बेकार भएको छ । यस्ता शासक र शासकीय प्रवृत्तिका कारण कहिल्लै देश नबन्ने निश्चित छ ।
हिजो भुकम्पमा जस्तापाता खाने तत्कालिन लुटेराहरुलाई अहिले स्वास्थ्य सामग्रीमा लुट मच्चाउने नयाँ लुटेराहरुले प्रतिस्थापन गरेको मात्र हो । कुनै राजनैतिक दल पानी माथीको ओभानो छैन । सवै मिलेर खाने नै हुन् । विदेशीले संघियता सवैलाई भाग पु–याएर देश लुटाउनका लागि ल्याइ दिएको हो । अहिले स्वास्थ्य सामग्रीमा लुटेर खाएको कुरा जुन आयो यो कुनै नौलो घटना चाँही होइन । भै रहने क्रियाकलाप हो । यहाँ सवै मिलेर मोज मस्ती गरेकै छन् । तीन तहका सरकारका ठालुप्रसादहरु एकमुख भएर आफ्नो भूढी भरेकै छन् । भ्रष्ट्राचार गर्ने र खानेकुरामा सवैको सल्लाह मिल्छ तर देश बनाउने कुरामा कोही मिल्दैनन् । यो नै यहाको समस्या हो । कोरोना आए संगै धेरैलाई दशै आएको छ । कसरी हुन्छ गिद्धे दृष्टि मात्र लाउछन् । यस्ता लाई देशद्रोही, जनद्रोही, विदेशीका दलालको उपनाम दिदा पनि कमी नै हुन्छ । राज्यको उच्च ओहोदामा बसेर राज्यसत्ता दोहन गर्ने छुट र अधिकार कसैलाई छैन । जनताले देशको ढिकुटी खाएर सक्नु भनेर जिम्मेवारी पनि दिएका होइनन् । महामारीको आवरणमा देशलाई खोक्रो वनाउने र आफ्नो मक्सद पुरा गर्ने ध्याउन्नमा शासक छन् । शासकका लागि यस्ता महामारी वा बिपत्ती मलिलो वातावरण हुदो रहेछ ।
आज मानवतालाई तिलान्जली दिएर आफनो कुण्ठित उदेश्य परिपूर्तिका लागि राज्य संचालक लागि परेका छन् । प्रजातन्त्र र लोकतन्त्रको खिल्ली उडाएर ब्रहलुटमा लिन भएकाहरु अव यो देशको शासन चलाउन योग्य पनि छैनन् । अहिलेका शासकहरुको प्रवृत्ति र व्यवहार हेर्दा, दुर्घटना भएको ठाउँबाट घाइतेको सुनका सिक्री चोरेर भाग्ने जस्ता छन् । यस्ता पापी र अधोरी शासकहरु मानवतालाई विर्सिएर संकटको यो महाविपत्तीमा रमाइरेका छन् । यो किमार्थ राम्रो होइन । तर अहिलेलाई सवैजना इमान्दार भएर कोरोना प्रकोपको विरुद्धमा लडौ । बिजय हासिल गरौ । यो महाबिपत्ती सकिए पछि समयले अवश्य सवैलाई पाठ सिकाउने नै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!