
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भ्रष्टाचारसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन्। विशेष अदालतले परियारसहित उक्त मुद्दामा प्रतिवादी बनाइएका सबैलाई दोषमुक्त ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोग पुष्टि हुन नसकेको निष्कर्षसहित सफाइ दिएको अदालत स्रोतले जनाएको छ।
सामाखुशी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियारले परियारसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दा दर्ता हुँदा परियार नेपाल सरकारका सहसचिवका रूपमा सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारीमा थिए।
अख्तियारका अनुसार सबैभन्दा कम मूल्य १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गर्ने समानान्तर सेवा प्रालिलाई अयोग्य ठहर गरी २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा कल्पवृक्ष–कोहिनुर जेभीलाई ठेक्का दिइएको थियो। यस निर्णयबाट महानगरपालिकालाई आर्थिक नोक्सानी पुर्याइएको दाबी आयोगको थियो।
अभियोग पत्रमा पदको दुरुपयोग गरी सार्वजनिक संस्थाको सम्पत्तिमा बदनियतपूर्वक हानि पुर्याएको आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको थियो।
यस मुद्दामा महानगरका तत्कालीन निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरीसमेत प्रतिवादी रहेका थिए।