
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा शीर्ष नेतृत्वले गम्भीर त्रुटि गरेको आरोप लगाएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उम्मेदवार छनोट नीतिगत आधारमा नभई नेताहरूको व्यक्तिगत स्वार्थ र आपसी सम्बन्धका आधारमा गरिएको दाबी गरे।

थापाका अनुसार कांग्रेस र एमालेबीच गरिएको तालमेल विचार र सिद्धान्तभन्दा पनि नेताहरूलाई आफ्ना निकट व्यक्तिहरू व्यवस्थापन गर्न सहज हुने गरी गरिएको हो। क्लस्टर बाँडफाँडसमेत त्यही उद्देश्यअनुसार तय गरिएको उनले बताए।
कांग्रेसबाट प्रस्ताव गरिएका नौ जना उम्मेदवारमध्ये तीन जनाको नाम कुनै पनि जिल्ला वा क्षेत्रीय समितिबाट सिफारिस नभएको उल्लेख गर्दै थापाले यसलाई पार्टीको पद्धति र प्रक्रियामाथिको ठाडो प्रहार भने। तल्लो तहका कमिटीहरूको निर्णयलाई बेवास्ता गर्दै केन्द्रबाटै नाम थोपर्ने प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनेको उनको भनाइ छ।
उम्मेदवार सूचीमा जनजाति समुदायको एक जना पनि प्रतिनिधि नराखिएकोप्रति असन्तुष्टि जनाउँदै उनले समावेशिताको मर्म पूर्ण रूपमा बेवास्ता गरिएको बताए। अघिल्लो पटक मधेसी समुदायको प्रतिनिधित्व नहुँदा फरक मत राखेर सच्याइएको स्मरण गराउँदै यसपटक जनजाति र मुस्लिम समुदायलाई जानीजानी बाहिर राखिएको आरोप लगाए। योग्य मुस्लिम उम्मेदवार हुँदाहुँदै पनि ‘आफ्ना मान्छे’ अटाउन क्लस्टर नै छाडिएको उनको टिप्पणी छ।
पार्टीभित्र पछिल्लो समय महामन्त्रीहरूलाई पाखा लगाउने र दबाबमा पार्ने प्रवृत्ति बढ्दै गएको गुनासो गर्दै थापाले यस विषयमा आफू र अर्का महामन्त्रीको स्पष्ट फरक मत रहेको जानकारी दिए। एमालेसँग गरिएको राष्ट्रिय सभाको तालमेलले पार्टीको विधि, विधान र आन्तरिक लोकतन्त्रमा गम्भीर असर पारेको उनको निष्कर्ष छ।