
एजेन्सी– थाइल्यान्डले कम्बोडियाले सीमापार मोर्टार फायर गरी आफ्ना एक सैनिकलाई घाइते बनाएको भन्दै युद्धविराम उल्लङ्घन भएको आरोप लगाएको छ। थाई सेनाले मंगलबार विज्ञप्ति जारी गर्दै कम्बोडियाली सेनाबाट मोर्टार राउन्ड प्रहार भएको दाबी गरेको हो।
थाई सेनाका अनुसार कम्बोडियाली सेनाले थाइल्यान्डको उबोन रत्चथानी प्रान्ततर्फ मोर्टार फायर गरेको थियो, जसमा एक थाई सैनिक घाइते भएका छन्। यद्यपि कम्बोडियन पक्षले यो घटना जानाजान नभई हतियार परिचालनमा भएको त्रुटिका कारण भएको दाबी गरेको थाई सेनाले जनाएको छ। थाई सेनाले भने यस्ता घटना दोहोरिए कडा प्रतिक्रिया जनाइने चेतावनी दिएको छ।
दशकौँदेखि जारी सीमा विवादका कारण दक्षिणपूर्वी एसियाली यी दुई मुलुकबीच गत वर्ष पटक–पटक सैन्य झडप भएका थिए। डिसेम्बरमा भएको भीषण झडपमा दर्जनौँको मृत्यु हुनुका साथै दुवै पक्षका करिब १० लाख मानिस विस्थापित भएको जनाइएको छ। त्यसपछि दुवै देशले डिसेम्बर २७ मा युद्धविराममा सहमति जनाएका थिए।
कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले भने मंगलबार प्रेह विहार प्रान्तमा भएको विस्फोटमा दुई कम्बोडियन सैनिक घाइते भएको र एक जना गम्भीर अवस्थामा रहेको बताएका छन्। उनका अनुसार सैनिकहरू नियमित कर्तव्यमा संलग्न रहेको बेला विस्फोट भएको हो र घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ।
घटना ‘एमराल्ड ट्राएङ्गल’ भनेर चिनिने थाइल्यान्ड, कम्बोडिया र लाओसको संगमस्थल नजिक भएको जनाइएको छ। यस क्षेत्रमा गत मे महिनामा भएको गोली हानाहानमा एक कम्बोडियन सैनिकको मृत्यु भएपछि सीमा तनाव पुनः चर्किएको थियो।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले युद्धविराम उल्लङ्घन भएको भन्दै नोम पेन्हमा औपचारिक विरोध दर्ता गरिएको जानकारी दिएका छन्। उनले थाइल्यान्डसँग आवश्यक परे जवाफ दिने क्षमता रहेको पनि बताएका छन्।
कम्बोडिया र थाइल्यान्डबीचको सीमा विवाद करिब ८ सय किलोमिटर लामो सिमानाको औपनिवेशिक कालीन सीमांकनसँग जोडिएको छ, जहाँ दुवै पक्षले क्षेत्र तथा ऐतिहासिक मन्दिरका भग्नावशेषमाथि दाबी गर्दै आएका छन्।
डिसेम्बरमा भएको युद्धविराम सम्झौताअनुसार दुवै देशले सैन्य गतिविधि सीमित गर्ने, झडप रोक्ने र सीमा सुरक्षामा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। युद्धविरामपछि थाइल्यान्डले डिसेम्बर ३१ मा जुलाईदेखि पक्राउ परेका १८ जना कम्बोडियन सैनिकलाई रिहा गरेको थियो, जसलाई विश्वास निर्माणको कदमका रूपमा हेरिएको छ।
यसअघि संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले पनि जुलाईमा दुवै देशबीचको लडाइँ अन्त्य गर्न मध्यस्थता गरेका थिए।
