
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र जिम्मेवारी पुनःव्यवस्थापन गर्दै तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्हाल्दै आएको नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी खोसेका छन्। मंगलबार बसेको सचिवालय बैठकले उक्त जिम्मेवारी ओलीका सहयोगी विष्णु रिमाललाई दिएको हो।

रिमाल यसअघि सम्पन्न एमालेको एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्य र उपमहासचिव दुवै पदमा पराजित भएका थिए। यद्यपि अध्यक्ष ओलीले उनलाई नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुख बनाउनुका साथै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन परिचालन समितिको सचिवको जिम्मेवारीसमेत दिएका छन्।
बैठकमा केही सचिवालय सदस्यहरूले रिमाललाई जिम्मेवारी दिने विषयमा प्रश्न उठाएका थिए। तर ओलीले लामो समयदेखि पार्टीमा सक्रिय रहेको र युवा भएकाले नयाँ जिम्मेवारी दिनु उपयुक्त हुने अडान राखेपछि निर्णय पारित भएको एक सचिवालय सदस्यले बताए।
यसअघि भएको महाधिवेशनमा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भए पनि अध्यक्षमा ओलीसँग पराजित भएका थिए। सचिवालय बैठकमा सहभागी एक सदस्यका अनुसार ओलीले पोखरेलसँग सहकार्यभन्दा दूरी बढाउने नीति लिएको देखिएको छ।
नीति तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी खोसिएपछि पोखरेललाई भने घोषणापत्र मस्यौदा समितिको सदस्य बनाइएको छ। फागुन २१ को निर्वाचनका लागि गठन गरिएको उक्त समितिको संयोजक स्वयं अध्यक्ष ओली रहेका छन्।