हिपमत डटकम

मंगलबार, पौष २२, २०८२ || 1556  पटक पढिएको

बलेवा — ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडक बजेट अभावका कारण अलपत्र परेका छन्।

बागलुङ निर्वाचन क्षेत्र नं १ अन्तर्गत अदालत चौपारी–सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम रोकिएको हो।

अदालत चौपारी–सिगाना–बरेङ सडकको निर्माण सिगानास्थित वडा कार्यालयसम्म पुगेर रोकिएको छ। ठेकेदारले समयमा भुक्तानी नपाएपछि डेढ वर्षसम्म काम अलपत्र परेको थियो। गत वर्ष सदरमुकाम बागलुङ बजारदेखि करिब १० किलोमिटर खण्डको काम सम्पन्न भए पनि त्यसपछिको खण्डका लागि बजेट सुनिश्चित नहुँदा ठेक्का नै लाग्न सकेको छैन। बजेट अभावकै कारण सरकारले यसअघि स्वीकृत केही योजनासमेत फिर्ता लिएको स्थानीय बताउँछन्।

त्यस्तै, निर्वाचन क्षेत्र नं २ अन्तर्गतको हरिचौर–मल्म–पाण्डवखानी सडकको पहिलो खण्डको ठेक्का पनि समयमै पूरा हुन सकेको छैन। म्याद थपपछि मात्रै ठेकेदार कम्पनीले आठ किलोमिटर सडकखण्डमा काम थालेको हो। सुरुमा तोकिएको समयमा २५ प्रतिशत मात्र काम गरेको कम्पनीले अहिले पाँच किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको जनाएको छ।

वल्र्ड वाइडर पूर्ण संयुक्त निर्माण कम्पनीका अनुसार हालसम्म करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ। अप्ठ्यारा खण्डमा ढलान र सहज खण्डमा कालोपत्रको काम भइरहेको कम्पनीको भनाइ छ। यसअघि साढे तीन करोड रुपैयाँ भुक्तानी नपाएपछि ठेकेदारले काम छाडेको थियो। म्याद थप र भुक्तानीको प्रतिबद्धतापछि पुनः काम सुरु गरिएको हो। आयोजना इन्जिनियर सागर भण्डारीले आगामी वैशाखसम्म काम सक्ने योजना रहेको बताए। विसं २०७९ भदौमा उक्त सडक २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

यस्तै, कुश्मीसेरा–बरेङ रणनीतिक सडकमा पनि बजेट अभावकै कारण ठेकेदारले काम छाडेपछि स्थानीय चिन्तित बनेका थिए। उपभोक्ताले संघर्ष समिति गठन गरी मुख्यमन्त्रीलाई आग्रह गरेपछि बजेट सुनिश्चित भएको र हाल काम पुनः सुरु भएको छ। नाम्दुकदेखि बरेङसम्म कालोपत्र सम्पन्न भइसकेको छ भने कुश्मीसेराबाट राङखानीसम्म कालोपत्रको तयारी भइरहेको छ।

बजेट अभावकै कारण तमानखोला गाउँपालिकाको बोङगादोभान–सोलेडाँडा सडकमा भने हालसम्म काम सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!