
झापा — मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ।

झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव आगामी माघ ७ देखि २१ गतेसम्म मेची रङ्गशालामा सञ्चालन हुनेछ। ‘समृद्धिको आधार, आर्थिक विकास: कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले जानकारी दिए।
उनका अनुसार जेन–जी आन्दोलनपछि निजी क्षेत्रमा देखिएको निराशा र त्रासको वातावरण चिर्न महोत्सवले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। महोत्सवमा घरेलु, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु र सेवाको प्रवर्द्धनका लागि एक सयभन्दा बढी स्टल रहनेछन्।
करिब १ करोड २० लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवबाट कम्तीमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने र एक लाखभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको राईले बताए।
महोत्सव सफल बनाउन नौ वटा उपसमिति गठन गरिएको छ। आर्थिक सङ्कलन तथा व्यवस्थापन समितिको संयोजकमा आदित्य पराजुली, मञ्च व्यवस्थापन समितिमा खड्गबहादुर लिम्बू, स्टल व्यवस्थापन समितिमा पवनकुमार श्रेष्ठ, प्रचारप्रसार समितिमा माधव विद्रोही, उपहार तथा प्रकाशन समितिमा रोहित काफ्ले, सुरक्षा तथा स्वयंसेवक समितिमा अम्बिका पोखरेल, स्वागत तथा सत्कार समितिमा अनिता कार्की तथा अनुगमन समितिमा राजेन्द्रकुमार घिमिरे रहेका छन्।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले महोत्सव सफल बनाउन नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।