काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा सञ्चालन हुने घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत क्यानले पुरुष, महिला र युवा तहका विभिन्न राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समावेश गरिएको क्यालेन्डर सार्वजनिक गरेको हो। क्यानका अनुसार २०२६ मा जिल्ला तथा प्रदेशस्तरका घरेलु प्रतियोगिताका साथै जय ट्रफी र राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप पनि सञ्चालन गरिनेछ।

युवा क्रिकेट विकासलाई विशेष प्राथमिकता दिँदै क्यानले क्यान युवा कप आयोजना गर्नुका साथै लेभल–१ र लेभल–२ कोचिङ कोर्स, पिच क्युरेटर तालिम र अम्पायरिङ कोर्स सञ्चालन गर्ने योजना बनाएको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालले आईसीसी टी–२० विश्वकप, आईसीसी विश्व क्रिकेट लिग, एसीसी पुरुष तथा महिला कप प्रतियोगिता र एसिया कपमा सहभागिता जनाउने क्यालेन्डरमा उल्लेख छ। त्यस्तै, यू–१९ राष्ट्रिय टोलीले भुटान र मलेसियाको भ्रमण गर्ने कार्यक्रम पनि तय भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

खड्काले घरेलु क्रिकेट खेलाडीहरूलाई अवसर दिन विभिन्न प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै टेस्ट मान्यता प्राप्त राष्ट्रहरूसँग खेल्ने सम्भावनाका लागि क्यानले पहल अघि बढाएको बताए।

क्यानले सन् २०२६ मा घरेलु क्रिकेट संरचना मजबुत बनाउँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आयोजना गर्ने कार्यक्रम पनि क्यालेन्डरमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!