चितवन — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभर कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खरेलले हाल सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिए। आगामी दिनमा यसलाई थप विस्तार गर्दै अन्य सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई समेत समेट्ने लक्ष्य रहेको उनले बताए।

चितवन शाखाको प्रशंसा गर्दै मन्त्री खरेलले पत्रकार महासङ्घको कार्यालयमा प्रवेश गर्दा आत्मीय वातावरण महसुस हुने उल्लेख गरे। अन्य शाखाको तुलनामा चितवन शाखा व्यवस्थित र सक्रिय रहेको उनको भनाइ थियो।

पत्रकारहरूको पेशागत समस्या समाधानका लागि वर्तमान सरकारले दीर्घकालीन आधार तयार गरिरहेको बताउँदै उनले लोककल्याणकारी विज्ञापन पारदर्शी र समान रूपमा सबै सञ्चारमाध्यममा वितरण गर्नुपर्नेमा जोड दिए।

निरीक्षणका क्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लामा पत्रकारिताले भोगिरहेका चुनौती र वर्तमान अवस्थाबारे मन्त्री खरेललाई जानकारी गराएका थिए।

त्यसै अवसरमा मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजन चितवनका समाचारदाता अनिल ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका थिए। उनले ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर काम गर्न सक्ने वातावरण निर्माणका लागि आवश्यक सहजीकरण गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

सो क्रममा मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टसँग टेलिफोन संवाद गरी टेलिभिजन संस्थाबाट गर्न सकिने सहयोगका लागि निर्देशन दिएका थिए।

पत्रकार ढकाल गत असोजमा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनका लागि जाँदै गर्दा दुर्घटनामा परेका थिए। दुर्घटनापछि घाइते भएका ढकालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको छ र उनी विगत तीन महिनादेखि उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!