
काराकास — भेनेजुएलाले अमेरिकाले आफ्नो देशका नागरिक तथा सैन्य पूर्वाधारमाथि आक्रमण गरेको आरोप लगाएको छ। सरकारी स्रोतका अनुसार विस्फोटहरू करिब ३० मिनेटको अन्तरालमा भएका थिए।

विस्फोटपछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भए पनि सडक यातायात भने सामान्य रूपमा सञ्चालनमा रहेको जनाइएको छ। राजधानी काराकासस्थित एक सैन्य ह्याङ्गरबाट धुवाँ निस्किएको देखिएको थियो।
घटनाका प्रत्यक्षदर्शी २१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले जमिन हल्लिएको महसुस भएको बताउँदै घटनालाई अत्यन्तै त्रासदीपूर्ण अनुभवका रूपमा वर्णन गरिन्। उनका अनुसार विस्फोटसँगै आकाशमा उडिरहेका विमान पनि देखिएका थिए।
राष्ट्रपति निकोलस मादुरोले घटनापछि आफ्ना समर्थकहरूलाई सडकमा उत्रिएर उनले ‘साम्राज्यवादी हस्तक्षेप’ भनेको आक्रमणको विरोध गर्न आह्वान गरेका छन्। सरकारले सबै राष्ट्रिय सुरक्षा संयन्त्र सक्रिय पार्दै बाह्य आपतकालीन अवस्था घोषणा गरेको छ।
यसअघि अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न डुङ्गाहरूलाई लक्षित गरी कारबाही गरेको जनाएको थियो। राष्ट्रपति मादुरोले अमेरिकाले भेनेजुएलामा सत्ता परिवर्तन गराउने उद्देश्यका साथ देशका तेल स्रोतमा नियन्त्रण जमाउन खोजिरहेको आरोप दोहोर्याएका छन्।