
विराटनगर। मोरङको रतुवामाई नगरपालिका–९ मा रहेको श्री जनता माध्यमिक विद्यालयमा करिब चार करोड रुपैयाँको लागतमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ। नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गरेका हुन्।

विद्यालय भवनको शिलान्यास गर्दै डा. शर्माले १० कोठे अत्याधुनिक भवनमा कम्प्युटर ल्याब, शौचालयसहित करिब ६ हजार ४ सय वर्गफुट क्षेत्रफलमा निर्माण गरिने जानकारी दिए। शिलान्याससँगै विद्यालयको नाम परिवर्तन गरी श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय राखिएको छ। रतुवामाई नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७२ (तेस्रो संशोधनसहित) अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी नाम परिवर्तन गरिएको जनाइएको छ।
यस अवसरमा डा. शर्माले काठमाडौं मेडिकल कलेजअन्तर्गत एमबीबीएस, बीडीएसलगायत उपलब्ध विषयमा पीएचडीसम्म अध्ययन गर्न सकिने गरी थप एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरे। सो छात्रवृत्तिमध्ये ५० लाख रुपैयाँ विद्यालयलाई जग्गा दान गर्ने स्वर्गीय नरेन्द्रबहादुर थापाको नाममा स्थापना गरिनेछ भने २५–२५ लाख रुपैयाँ डा. शर्माका हजुरबुवा स्वर्गीय गुणलाल न्यौपाने र जिजुबा गणपति न्यौपानेको नाममा स्थापना गरिने उनले बताए।
डा. शर्माले आफूले अध्ययन गरेको विद्यालयमा लगानी गर्नु आफ्नो शैक्षिक यात्राप्रतिको ऋण तिर्ने प्रयास भएको उल्लेख गरे। उनले कम्तीमा पाँच वर्ष यही विद्यालयमा अध्ययन गरेका, आर्थिक रूपमा कमजोर तथा यहीँबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एमबीबीएस र बीडीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने स्पष्ट पारे।
कार्यक्रममा रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंह र कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा. शर्माको योगदानको प्रशंसा गर्दै यस्तो निःस्वार्थ सहयोगले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे।
— न्युज एजेन्सी नेपाल