हिपमत डटकम

शनिबार, पौष १९, २०८२ || 850  पटक पढिएको

१९ पुस, चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं. २ का निलम्बित पूर्व सांसद रवि लामिछानेले सुरु गरेको ‘ब्लू बस’ सेवा हाल बन्द गरिएको छ।

महिलालाई लक्षित गर्दै २०८० साउनदेखि कालिका नगरपालिका हुँदै भरतपुर र नारायणगढ क्षेत्रमा सञ्चालन गरिएको उक्त बस सेवा पछिल्लो करिब डेढ महिनादेखि रोकिएको हो।

सुरुआतमा ना५ख ३१३८ नम्बरको ३२ सिटे बस मासिक एक लाख ३५ हजार रुपैयाँ भाडामा लिएर सञ्चालन गरिएको थियो। पछि लागत बढी परेको भन्दै लामिछानेको सचिवालयले आफैं बस खरिद गरी सेवा निरन्तरता दिएको थियो। यद्यपि, निलो रङ लगाइएको भन्दै सुरुदेखि नै बस गैरकानुनी भएको आरोप खेप्दै आएको थियो।

स्रोतका अनुसार करिब ७ लाख रुपैयाँमा खरिद गरिएको बस पटक–पटक बिग्रिन थालेपछि मर्मत र इन्धन खर्च अत्यधिक बढेको थियो। त्यसपछि सेवा बन्द गरी बस थन्क्याइएको हो। अब उक्त बस पुनः सञ्चालन गर्ने कि कबाडीमा दिने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको बताइएको छ।

रास्वपा स्रोतका अनुसार बस सञ्चालनसँग सम्बन्धित बाँकी दायित्व रकम चितवनका विभिन्न व्यक्तिबाट संकलन गरी भुक्तानी गरिएको छ। सेवा पुनः सुरु हुने–नहुने विषयमा भने अझै अन्योल रहेको छ।

यसैबीच, लामिछानेले भरतपुर–११ को बाइपास सडकस्थित गुम्बाचोक नजिक खोलेको सचिवालय पनि अपेक्षित रूपमा सक्रिय हुन सकेको छैन। जनताको समस्या सुन्ने, उजुरी संकलन गर्ने तथा केन्द्रसँग विकास निर्माणका काम समन्वय गर्ने उद्देश्यसहित खोलिएको उक्त कार्यालय प्रभावकारी बन्न नसकेको स्रोतको दाबी छ।

लामिछानेले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विज्ञापन गरी विदेशबाट ल्याइएका भनिएका हेमन्त बराललेसमेत झण्डै एक वर्षअघि सचिवालय छाडिसकेको जनाइएको छ।

मोबाइल क्लिनिक पनि बन्द

यसअघि लामिछानेले पुरानो मेडिकल कलेजको सहकार्यमा निर्वाचन क्षेत्रभित्र सञ्चालन गरेको मोबाइल क्लिनिक सेवा पनि दीर्घकालीन हुन सकेन। केही महिनासम्म चलेको उक्त सेवा डेढ वर्षभन्दा बढी समयदेखि बन्द अवस्थामा छ।

पुरानो मेडिकल कलेजले उपलब्ध गराएको एम्बुलेन्सको रङ परिवर्तन गरी ‘मोबाइल क्लिनिक’ लेखिएको भन्दै सुरुदेखि नै विवादमा परेको यो कार्यक्रम पछि कलेजले एम्बुलेन्स फिर्ता लिएसँगै पूर्ण रूपमा बन्द भएको थियो।

६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले प्रयोग गरिएको ना२च ५६१९ नम्बरको एम्बुलेन्स भारतीय दूतावासले २०७१ सालमा उपलब्ध गराएको थियो। विवाद बढेपछि कलेजले उक्त एम्बुलेन्स फिर्ता लिएको थियो।

स्रोतका अनुसार शिविरमार्फत उपचार गरिएका बिरामीलाई कलेजसम्म ल्याउने उद्देश्यसहित एम्बुलेन्स र जनशक्ति सहयोग गरिएको थियो। सोही कलेजका चिकित्सक डा. मनोहर प्रधान हाल रास्वपाबाट आदिवासी जनजाति कोटामा समानुपातिक सूचीको चौथो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!