
काठमाडौं– गोरखा क्षेत्र नम्बर–२ बाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि नेकपा एमालेले उनलाई सोही क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। यसपटक पुनः उम्मेदवारमा सिफारिस भएपछि गुरुङले यो निर्णय आफ्नो व्यक्तिगत चाहनाभन्दा जनसमुदाय, युवा तथा जेन–जी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको दाबी गरेका छन्।
गुरुङले वि.सं. २०५० सालदेखि नै एमालेमा सक्रिय रहँदै आएको बताउँदै पार्टीसँग निरन्तर आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको उल्लेख गरेका छन्। ‘समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छु,’ उनले भने, ‘गोरखाली जनताले मलाई विश्वास गरेर संसद्मा पठाउनेमा म ढुक्क छु।’
यद्यपि, उनी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आए पनि विगतमा पटक–पटक गुण्डागर्दीसम्बन्धी आरोपमा मुछिँदै आएका छन्। यसबारे प्रतिक्रिया दिँदै गुरुङले आफूलाई अनावश्यक रूपमा ‘गुण्डा’को आरोप लगाएर दुःख दिने प्रयास भएको बताए। ‘म एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित छु,’ उनले भने, ‘समाजसेवा गर्छु भन्नसमेत नपाइने अवस्था सिर्जना गरियो।’
गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य तथा गोरखानिवासी प्रविण अधिकारीले निस्वार्थ राजनीति र समाजसेवाका लागि अघि बढ्ने जो–कोहीलाई गोरखामा स्वागत गर्नुपर्ने बताए। ‘आज गोरखाका आम युवामात्र होइन, जेन–जी पुस्ताले पनि मिलन गुरुङलाई साझा उम्मेदवारका रूपमा हेरिरहेका छन्,’ उनले भने, ‘युवाको वास्तविक आवाज संसद्सम्म पुर्याउन उनी सक्षम नेतृत्व हुन्।’
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए। तर फागुन २१ गतेको निर्वाचनमा उनी सो क्षेत्रबाट उम्मेदवार नहुने सम्भावना बलियो देखिएपछि एमालेले चक्रे मिलनको नाम अघि सारेको हो।