हिपमत डटकम

शुक्रबार, पौष १८, २०८२ || 891  पटक पढिएको

डुम्रे– तनहुँका व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकामा सञ्चालनमा रहेका घरबास (होमस्टे)लाई जोड्ने पदमार्ग निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लामा सबैभन्दा बढी होमस्टे रहेका यी दुई पालिकालाई जोड्दै आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले पदमार्गको नक्साङ्कन गरिएको हो।

पृथ्वी राजमार्गअन्तर्गतको पुरानो बजार डुम्रेबाट करिब आठ किलोमिटर दूरीमा अवस्थित ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरसम्म पुग्ने पदमार्गमार्फत होमस्टे पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको सम्पदा नेपालका अध्यक्ष तथा पर्यटनविद् हरिसिं गुरुङले जानकारी दिए। उनका अनुसार पदमार्गको नक्साङ्कन सम्पन्न भइसकेको छ र विभिन्न स्थानमा नक्सा टाँसेर प्रचारप्रसार गर्ने तयारी भइरहेको छ।

गुरुङका अनुसार पदयात्रा तनहुँको हालको वा अघिल्लो जिल्ला सदरमुकाम दमौली वा बन्दीपुरबाट सुरु गर्न सकिनेछ। समुद्री सतहबाट करिब ५०० देखि एक हजार २०० मिटर उचाइसम्म फैलिएको यस पदमार्गले हालका लागि व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका होमस्टेलाई समेटेको छ।

करिब ७५ किलोमिटर दूरीभित्र १४ वटा होमस्टेको अनुभव लिन सकिने गरी पदमार्ग तयार गरिएको गुरुङले बताए। ‘यस सर्किटमा पर्ने ग्रामीण बस्तीलाई मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाले भरिपूर्ण जीवन्त सांस्कृतिक सङ्ग्रहालयका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ,’ उनले भने।

नेपालकै पहिलो होमस्टे सर्किट देशको मध्यभागमा निर्माण गर्ने तयारी भएको बताउँदै गुरुङले यस पदमार्गबाट धौलागिरि, अन्नपूर्ण, लाङटाङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने जानकारी दिए। साथै स्थानीय मेला–चाडपर्व, कृषि गतिविधिमा सहभागिता, परम्परागत कृषि गाउँको भ्रमण तथा स्थानीयसँग प्रत्यक्ष अन्तरक्रियाको अवसरसमेत पर्यटकले पाउनेछन्।

ग्रामीण क्षेत्रवासीको न्यानो आतिथ्यता, जैविक खाना, सांस्कृतिक कार्यक्रम र परम्परागत नेपाली पहाडी झुपडी तथा कटेजमा होमस्टेको अनुभूति लिन सकिने यस सर्किटले ग्रामीण जीवनलाई नजिकबाट बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ। रिजल्यान्ड पदयात्रा र माउन्टेन बाइकिङ प्रवद्र्धनका लागि पनि यो पदमार्ग उपयोगी हुने बताइएको छ।

यस पदमार्गमा मगर, गुरुङ, नेवार, क्षेत्री, ब्राह्मण, भुजेल, तामाङ तथा दलित समुदायको बासोबास रहेकाले उनीहरूको जीवनशैली, संस्कार र संस्कृतिको अनुभव लिन सकिनेछ।

रामकोट, कुलुङ, केशवटार, रुम्सी, धारापानी, कमलबारी, डाँडाछाप, कोरिखा, विमलनगर, मोहरिया, बन्दीपुर, पाहुना, तीनधारा र विन्दवासिनी सामुदायिक होमस्टे यस सर्किटमा समेटिएका छन्। बन्दीपुर, पाहुना र विन्दवासिनी होमस्टेमा एकैपटक करिब १५० जनासम्मलाई आवास सुविधा उपलब्ध गराउन सकिने जनाइएको छ।

यस होमस्टे सर्किटमार्फत झारगाउँ, कन्यादेवी मन्दिर, मणिमुकुन्देश्वरी मन्दिर, बन्दीपुर बजारलगायत धार्मिक, सांस्कृतिक तथा पर्यटकीय ग्रामीण बस्तीको अनुभव लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!