
देउखुरी — थारु समुदायको प्रमुख पर्व माघी नजिकिँदै जाँदा देउखुरी क्षेत्रका थारु बस्तीमा चहलपहल बढेको छ। थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा अनुसार पर्व आउनुभन्दा करिब एक महिनाअघिदेखि नै तयारी सुरु गर्ने चलन रहेको छ।

घोराही उपमहानगरपालिका–७ शुक्रबारकी रमा चौधरीका अनुसार माघीका अवसरमा गाउँका महतवा (अगुवा) को घरमा भेला भएर वर्षभरिका कामको समीक्षा र आगामी वर्षका योजना बनाउने परम्परा छ। ‘माघीको तयारीका लागि वनबाट दाउरा र पात ल्याउने, पातका दुनाटपरी गाँस्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘ढिक्री, रोटी र जाँड बनाउन धान र चामल कुट्ने तथा पिसाउने काम पनि सुरु भइसकेको छ।’
थारु समुदायमा खानाका परिकारका लागि एक महिनाअघिदेखि तयारी गरी माघेसङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने चलन रहेको छ। घोराही–२ का सुशील चौधरीका अनुसार माघीमा गाउँको मुखिया, घरमूली र चौकीदार चयन गर्ने, पुराना नियमको समीक्षा तथा नयाँ नियम लागू गर्ने परम्परा भएकाले यस पर्वलाई विशेष महत्व दिइन्छ। उनले माघीलाई वर्षभरि गरिएका कामको समीक्षा र नयाँ कार्ययोजना बनाउने अवसरका रूपमा लिइने बताए।
माघीको अघिल्लो दिन थारु समुदायका पुरुषहरूले आगो बालेर ताप्ने र गाउँभरिका मानिस एकै स्थानमा भेला हुने प्रचलन छ। त्यसपछि भालेबासेसँगै नदी वा खोलामा नुहाउने चलन रहेको छ। नुहाएर आएपछि ज्येष्ठ व्यक्तिलाई ढोगभेट गरी आशीर्वाद लिने र घरघरमा खिचडी दान गर्ने प्रथा छ। खिचडीमा मासको दाल, चामल र नुन मिसाइन्छ।
थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीका अनुसार खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइन्छ। ‘छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन,’ उनले भने, ‘पाहुर (कोसेली) का रूपमा चेलीबेटीको घरमा पुर्याउने परम्परा छ।’
माघीको अघिल्लो दिन बिहानै गाउँलेहरू भेला भई बङ्गुर वा सुँगुर काटेर (थारु भाषामा जिता मार्ना) बराबरी बाँड्ने चलन छ। यस अवसरमा घोंघी, गँगटा र माछाका परिकार बनाएर खाने तथा मघौटा नाच नाच्ने गरिन्छ।
घोराही–६ का थारु अगुवा भीमबहादुर चौधरीका अनुसार थारु समुदायले माघ महिनालाई नयाँ वर्षका रूपमा लिन्छ। पुस मसान्तसम्म पुराना लेनदेन र हिसाबकिताब चुक्ता गरी माघ १ गतेदेखि नयाँ हिसाब सुरु गर्ने परम्परा छ। ‘माघीमा परिवार र गाउँ समुदायस्तरमै खेतीपातीसहित अन्य सामाजिक व्यवहार नवीकरण गरिन्छ,’ उनले बताए।
माघी पर्व नजिकिँदै जाँदा थारु समुदायसँग सम्बन्धित सङ्घसंस्थाले सांस्कृतिक महोत्सवको तयारी पनि तीव्र पारेका छन्। थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस १९ गते घोराही उपमहानगरपालिका–१५ स्थित सहिद पार्कमा माघी महोत्सव आयोजना गरिने भएको छ।
थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीका अनुसार थारु भाषा, साहित्य, लोककला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। यस अवसरमा थारु सम्वत् २६४९ पनि मनाइनेछ।
महोत्सवमा मघौटा नाचसहित थारु सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। साथै, घोंघी, माछा, गँगटा, ढिक्री, अनदीको रोटीलगायत थारु परिकारको बिक्री तथा वितरण गरिनेछ। थारु भाषाका पुस्तक र हस्तकलाका सामग्री पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने अध्यक्ष चौधरीले जानकारी दिए।