
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजबाट उमेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ।

निर्वाचन तालिकाअनुसार सोमबार बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी–विरोध तथा सुधारसम्बन्धी सूचना प्रकाशन गरिनेछ। त्यसपछि बिहान १० बजे दाबी–विरोधमाथि छानबिन तथा निर्णय हुनेछ भने १०ः१५ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।
आज बिहान ९ देखि १२ बजेसम्म उमेदवारका लागि दर्खास्त फाराम वितरण गरिनेछ। साथै, बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म उमेदवारी दर्ता गर्ने समय तोकिएको छ।
दिउँसो २ः३० बजे प्रारम्भिक उमेदवार नामावली प्रकाशन गरिनेछ भने सोही समयदेखि ३ः३० बजेसम्म उमेदवारीविरुद्ध उजुरी दिन सकिनेछ। उजुरीमाथि दिउँसो ३ः१० बजे छानबिन तथा निर्णय हुने निर्वाचन समितिले जनाएको छ।
निर्णयपछि साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिने व्यवस्था गरिएको छ। अन्तिम उमेदवार नामावली बेलुका ६ बजे सार्वजनिक गरिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी निर्वाचन समितिले तोकेको समयअनुसार नतिजा सार्वजनिक गरिनेछ। नतिजा घोषणा पश्चात प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम आयोजना गरिने जनाइएको छ।