हिपमत डटकम

शनिबार, मंसिर २८, २०८२ || 1031  पटक पढिएको

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि मनोनीत हुने १०८ जना महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच करिब ६०/४० को अनुपातमा बाँडफाँट गरिएको छ।

शुक्रबार करिब पाँच घण्टा चलेको सचिवालय बैठकमा भएको छलफलपछि दुवै पक्षबीच सो समझदारी बनेको हो। एक पदाधिकारीका अनुसार ठ्याक्कै ६०/४० भनेर औपचारिक रूपमा तय नभए पनि सोही अनुपातमा सबैलाई समेट्ने सहमति भएको हो।

एमाले विधानअनुसार कुल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्न सकिने व्यवस्था छ। बैठकमा अध्यक्ष ओली पक्षले करिब २०० जनाको नाम प्रस्ताव गरेपछि पोखरेल पक्षले अस्वीकार गरेको थियो। त्यसपछि ओली–पोखरेल समझदारीमा दुवैतर्फबाट १०८ जनाको नाम टुंगो लगाउने सहमति भएको हो।

शनिबार बिहान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच छलफल भएर मनोनीत प्रतिनिधिहरूको नाम अन्तिम रूप दिइएको छ। यसअघि २ हजार १५४ जना प्रतिनिधि निर्वाचित भइसकेका थिए। १०८ जना मनोनीत भएपछि ११औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या २ हजार २ सय ६२ पुगेको छ।

एमाले संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार मनोनीतसहित सबै प्रतिनिधिहरूको नामावली अनलाइनमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ। मनोनीत प्रतिनिधिहरू विभिन्न भ्रातृ संगठन, प्रदेश कमिटी, बुद्धिजीवी, युवा–विद्यार्थी, पेशागत महासंघ र सल्लाहकार परिषद् लगायत क्षेत्रबाट समेटिएका छन्।

एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने भएको छ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। यस महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ।

पोखरेललाई पूर्व राष्ट्रपति तथा पूर्व उपराष्ट्रपति विद्या भण्डारीको समर्थन रहेको बताइन्छ। उनले पार्टीभित्र लोकतान्त्रीकरणको विषय उठाउँदै फरक मत दर्ता गराएका छन्। उक्त फरक मत महाधिवेशनमा औपचारिक छलफलमा नआउने भए पनि बन्दसत्रमा वितरण गर्न र पोखरेललाई आफ्नो धारणा राख्ने अवसर दिने सहमति सचिवालय बैठकमा जुटेको नेताहरूले बताएका छन्।

दुवै पक्षले १५ पदाधिकारीसहित प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरे पनि प्यानल सार्वजनिक भने गरेका छैनन्। यसअघि एमालेको १०औँ महाधिवेशन चार वर्षअघि चितवनको सौराहामा सम्पन्न भएको थियो, जहाँ अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!