
वासिङ्टन डी.सी. — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १० लाख डलर भुक्तानी गर्न सक्ने धनी विदेशीलाई अमेरिकी भिसा प्रदान गर्ने उद्देश्यसहित नयाँ ‘गोल्ड कार्ड’ योजना सार्वजनिक गरेका छन्।

ट्रम्पले बुधबार ट्रुथ सोसलमा लेख्दै भने, “यो कार्डले योग्य र प्रमाणित व्यक्तिलाई नागरिकत्वतर्फको सोझो बाटो दिनेछ। यो अत्यन्तै रोमाञ्चक कदम हो। यसले महान् अमेरिकी कम्पनीहरूलाई आफ्नो अमूल्य प्रतिभा संरक्षण गर्न मद्दत गर्न सक्छ।”
यस वर्षको सुरुवातमा घोषणा गरिएको गोल्ड कार्ड, आधिकारिक विवरणअनुसार, अमेरिकालाई “महत्त्वपूर्ण लाभ पुर्याउन सक्ने” व्यक्तिलाई प्रदान गरिने विशेष प्रकारको भिसा हो।
यसबीच, वासिङ्टनले आव्रजन सम्बन्धी कडाइ कडा बनाइरहेको छ — कामदार भिसा शुल्क वृद्धि, कागजातविहीन आप्रवासीको निष्कासनजस्ता कठोर नीतिहरू लागू गर्ने क्रममा ट्रम्प प्रशासनको यो योजना थप चर्चामा आएको हो।
गोल्ड कार्डले “रेकर्ड समय”मै अमेरिकी नागरिकता दिने दाबी गरिएको छ। त्यसका लागि न्यूनतम १० लाख डलर तिर्नुपर्नेछ। कर्मचरी प्रायोजन गर्ने व्यवसायहरूले २० लाख डलरसहित अतिरिक्त शुल्क तिर्नुपर्ने बताइएको छ।
वेबसाइटले कार्डको ‘प्लाटिनम संस्करण’ समेत रहने उल्लेख गरेको छ, जसले विशेष कर छुट प्रदान गर्नेछ। यसको मूल्य करिब ५० लाख डलर रहने अनुमान छ।
फेब्रुअरीमा पहिलो घोषणा भएयता योजना विवादमा तानिएको छ। केही डेमोक्र्याटहरूले यसले धनी व्यक्तिलाई अन्यायपूर्वक फाइदा पुर्याउने टिप्पणी गरेका छन्।