
धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरी देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन्। सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जसपाको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक तथा प्रशिक्षण तालिम कार्यक्रमका क्रममा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएको जिकिर गरे।

अध्यक्ष यादवले पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणाली सुधार अब अपरिहार्य बनेको दाबी गर्दै आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्छ भन्ने धारणा दोहोर्याए। लोकतन्त्र सुदृढ बनाउन भयमुक्त वातावरण र सुरक्षाको प्रत्याभूति राज्यले सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
उनले हालको सरकारले सुशासन, समानुपातिक पहुँच र भ्रष्टाचार नियन्त्रणजस्ता जनमहत्वका मुद्दा सम्बोधन गर्न नसकेको आरोप लगाए। जेनजी आन्दोलनले उठाएका धेरै माग समाधानका तहमा नपुगेको उल्लेख गर्दै उनले सरकार जिम्मेवार रूपमा नदेखिएको टिप्पणी गरे।
सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै चुनावी प्रक्रिया अविलम्ब अघि बढाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने आवश्यकता उनले औँल्याए। संसद् पुनःस्थापना भए पनि दिगो राजनीतिक समाधान खोज्नु अपरिहार्य रहेको उनको भनाइ थियो।
अध्यक्ष यादवले जेनजी आन्दोलनपछि उठाइएका माग अझै सम्बोधन नभएको र त्यसले राजनीतिक स्थायित्व कमजोर बनाएको आरोप गर्दै राष्ट्रिय सेवा, सुविधा तथा राज्यका अंगहरूमा सबै समुदायको समानुपातिक पहुँच सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता रहेको स्पष्ट पारे।