
काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा शुक्रबार पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनसँग छलफल गर्ने भएको छ। पार्टी महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सम्बन्धित संगठनका पदाधिकारीलाई सानेपामा बैठकका लागि बोलाएको हो।

समिति सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार सदस्यता वितरणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने उद्देश्यसहित विस्तृत छलफल गर्ने तयारी गरिएको छ। बैठक आज दिउँसो १ बजे बस्ने उनले बताए।
यसअघि कांग्रेसले १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय सोमबारको बैठकबाट गरेको थियो। त्यसको पछिल्लो दिन बसेको समितिको बैठकले दुई दिनभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पठाइने निर्णय गरेको थियो।
महामन्त्री थापा नेतृत्वको समितिमा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी रहेका छन्।