
मेक्सिको सिटी, मेक्सिको – मेक्सिकोमा जेन जेड (Gen Z) आन्दोलन जोरमा छ। शनिबार हजारौँ युवा प्रदर्शनकारीहरूले अपराध र भ्रष्टाचारको विरुद्धमा मेक्सिको सिटीको सडकमा प्रदर्शन गरे।

विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीले भिडन्त गरेका छन्। केही प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा, लाठी र साङ्लोले आक्रमण गरेका थिए भने प्रहरीको ढाल र अन्य उपकरण पनि खोसेका थिए।
मेक्सिको सिटीका सुरक्षा सचिव पाब्लो भाज्क्वेजका अनुसार झडपमा १२० जना घाइते भएका छन्, जसमा झन्डै सय जना प्रहरी अधिकारी छन्। प्रहरीले २० जनालाई पक्राउ गरेको छ।
यो आन्दोलनलाई विपक्षी दलका पुराना समर्थकहरूको पनि ठूलो समर्थन प्राप्त भइरहेको छ। सन् १९९० को दशकको अन्त्यदेखि २०१० को दशकको सुरुवातसम्म जन्मेका युवाहरूलाई जेन जेड भनिन्छ। यस वर्ष यो उमेर समूहले नेपाल लगायत अन्य धेरै देशमा असमानता, लोकतन्त्रको कमजोर हुने र भ्रष्टाचारको विरुद्धमा सक्रिय प्रदर्शनहरू आयोजना गरेका छन्।