
सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ का २१ वर्षीय धनराज साह र गाउँपालिका–६ की २० वर्षीया लक्ष्मी कुमारी यादवले स्वेच्छाले विवाह गरेपछि केटी पक्षबाट निरन्तर धम्की र दुर्व्यवहार भोग्दै आएको भन्दै सार्वजनिक रूपमा न्यायका लागि गुहार मागेका छन्।

श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममा प्रेम सम्बन्धमा बाँधिएका उनीहरूले दुवै परिवारलाई विवाहको जानकारी दिएर स्वीकृतिका लागि अनुरोध गरेका थिए। तर जातीय भिन्नताका कारण दुवै पक्षका अभिभावकले विवाह अस्वीकार गरेपछि उनीहरूले मन्दिरमा विवाह गरेका थिए र वडा कार्यालयमा विवाह दर्ता पनि गराइसकेका छन्। विवाहपछि उनीहरू घर परिवारसँग सम्पर्कविहीन रहेका छन्।
धनराज–लक्ष्मीका अनुसार केटा पक्ष (साह परिवार) ले उनीहरूको विवाहलाई स्वीकार गरिसकेको र बुहारी (लक्ष्मी) लाई अपनाइसकेको छ। तर, केटी पक्ष (यादव परिवार) ले भने उनीहरूको विवाह स्वीकार नगरी धनराजका पिता र परिवारका सदस्यहरूलाई बाँधेर कुट्ने, फोन गरेर धम्काउने र घरमै गएर धाकधम्की दिनेजस्ता कार्यहरू गरिरहेको छ।लक्ष्मीले पत्रकार सम्मेलनमा भनिन्, “यदि म घर गएँ भने मलाई जिउँदै मारिदिन्छन् रे।
पत्रकार सम्मेलनमा दम्पतीले लक्ष्मीको परिवारले विवाह स्वीकार नगरी निरन्तर धम्की र दुर्व्यवहार गरिरहेको बताए। “छोरी फिर्ता गर, नत्र छोरालाई मारिदिन्छौँ” जस्ता धम्कीका कारण धनराजको परिवार त्रासमा बस्न बाध्य भएको उनीहरूले गुनासो गरे।
उनीहरूले प्रहरीसमक्ष पनि गुनासो दर्ता गराए पनि आवश्यक सहयोग नपाएको बताएका छन्। उनीहरूले भने, “हामी दुवैको उमेर पुगेको छ र आफ्नो खुशीले विवाह गरेका हौँ। तर परिवारको धम्की र यातनाका कारण घरदेखि टाढा बस्न बाध्य छौँ।”
धनराज–लक्ष्मीले आफ्नो दाम्पत्य जीवनमा असुरक्षा सिर्जना नगर्न, धनराजका परिवारमाथि हुने दुर्व्यवहार रोक्न तथा प्रहरी प्रशासनबाट कानुनी संरक्षण उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले जातीय भेदभावको नाममा आफ्नो स्वतन्त्र निर्णयको सम्मान गर्न समाज र राज्य दुवै जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।