
पथरी । दोस्रो अन्तराष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप–२०८२ अन्तर्गत आज (बुधबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा सलहेश युवा क्लब सिरहाले पाँचथर क्लब फिदिमलाई ४–१ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भए पनि दोस्रो हाफमा सलहेशले उत्कृष्ट प्रदर्शन गरेको थियो। दोस्रो हाफको २७औं मिनेटमा मिडफिल्डर रोहन कार्कीले आयुस राना मगरको पासमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि पाँचथरका अभिषेक लिम्बुले ३०औं मिनेटमा बराबरी गोल फर्काए।

खेलको क्रममा रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै सलहेशका खेलाडी र अधिकारीहरूले केहीबेर मैदानमा विरोध गरेपछि खेल केही समयका लागि स्थगित भएको थियो। पुनः सुरु भएको खेलमा सलहेशले थप तीन गोल गर्दै शानदार जित दर्ता गर्यो। ३७औं मिनेटमा सौरभ सुब्बाको क्रसमा रोमन भुजेलले दोस्रो गोल गरे भने ३९औं मिनेटमा पुनः रोहन कार्कीले तेस्रो गोल थपे। अतिरिक्त ६ मिनेटको ईन्जुरी समयमा कमल खवासले चौथो गोल गर्दै जित सुनिश्चित गरे।
पहिलो हाफ अत्यन्त प्रतिस्पर्धात्मक भए पनि दोस्रो हाफ रोमाञ्चक बनेको थियो। दुबै पक्षका गोलरक्षकहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। उत्कृष्ट खेल प्रदर्शनका लागि सलहेशका रोहन कार्की ‘म्यान अफ द म्याच’ घोषित भए।
अब सलहेशले फाइनलमा आयोजक पथरी–११ र न्युरोड टिम (एनआरटी) बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग भिड्नेछ। फाइनल खेल कात्तिक २२ गते हुने छ। आठ टिम सहभागी गोल्डकपको विजेताले ५ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउने छन्।