
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा मेयरका रूपमा निर्वाचित लोकतान्त्रिक समाजवादी विचारका युवा जोहरान ममदानीको चुनावी अभियानलाई नेपालका युवाहरूका लागि प्रेरणादायी सन्दर्भको रूपमा लिनुपर्ने बताएका छन्।

डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ममदानीको विजयलाई वैचारिक र राजनीतिक मुद्दाको जीतको रूपमा व्याख्या गरेका छन्।
उनले लेखेका छन्, “अमेरिकाको सबैभन्दा ठूलो शहर न्यूयोर्कको मेयरमा लोकतान्त्रिक समाजवादी विचार अंगीकार गर्ने नवनिर्वाचित युवा जोहरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक–राजनीतिक मुद्दाहरूलाई हाम्रो नेपालका जेनजी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ–सामग्रीको रूपमा लिन जरुरी छ।”
भट्टराईका अनुसार कुनै पनि सफल राजनीतिक नेतृत्वका लागि विचार र व्यक्तित्व दुवैको सन्तुलन आवश्यक हुन्छ। उनले थपे, “विचार विनाको व्यक्ति र व्यक्तित्व विनाको विचारले सही राजनीतिक नेतृत्व गर्न सक्दैन। विश्व इतिहासको अनुभवले यही भन्छ।”
