
झापा – झापाको विर्तामोड नगरपालिका–७, खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार, नाम र ठेगाना नखुलेका करीब ३६ वर्षीय तराई मूलका जस्तो देखिने पुरुषलाई जङ्गलबाट आएको हात्तीले आक्रमण गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार, आज बिहान ६:२० बजे स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।