
धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेताहरू आगामी रणनीति तय गर्नका लागि संयुक्त छलफलमा जुटेका छन्।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भए पनि, अन्य दलहरूले यो निर्णयलाई संविधानविपरीत र राजनीतिक रूपमा पक्षपाती कदम भन्दै असन्तुष्टि जनाएका छन्।
सोही असन्तुष्टि र प्रदेश प्रमुखको निर्णयविरुद्ध अगामी रणनीति तय गर्ने उद्देश्यले अहिले विभिन्न दलका शीर्ष नेताहरू बैठकमा बसेका हुन्।
छलफलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत दलका नेताहरू सहभागी छन्।