काठमाडौं, च्यासल — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट पारेका छन्।
शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भण्डारीले पार्टी सदस्यता परित्याग गरेर राष्ट्रपतिको जिम्मेवारी सम्हालेकाले अब त्यो सदस्यता नवीकरण नहुने बताए। “मदन भण्डारीको नाममा कार्यालय खोलेर पार्टीविरुद्ध जमात खडा गरिँदैछ,” उनले टिप्पणी गरे।
भण्डारीले पार्टी सदस्यता नवीकरणका लागि रसिदसमेत काटिएको दाबीप्रति प्रतिक्रिया दिँदै ओलीले कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा नवीकरण नहुने बताए। “यो विषयमा मलाई आरोप लगाइएको छ कि मैले सदस्यता खोसेँ, तर त्यो सत्य होइन,” ओलीले स्पष्ट पारे।
उनले भण्डारीले चुनावमा पराजित भएका व्यक्तिहरूलाई भेला पारेर छुट्टै समूह बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए। “दुईपटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी व्यक्तिले पार्टीमा यस्तो अस्थिरता ल्याउने सोच्नै सकिँदैन,” उनले जिकिर गरे।
कार्यक्रममा ओलीले आम जनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता तथा कार्यकर्तालाई एमालेमा स्वागत गर्दै पार्टीमा भित्रिएका सबैलाई उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले वर्तमान सरकार विकासको मार्गमा अघि बढिरहेको दाबी पनि गरे।