काठमाडौं, भदौ ६ — सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने प्रमुख कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयद्वारा सार्वजनिक सम्भावित कार्यसूचीअनुसार, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन्।
त्यसैगरी बैठकमा गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम पनि कार्यसूचीमा समावेश छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने छन्।
यस्तैगरी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने छन्।