विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा आयोजना हुने श्रीराधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभई सम्पूर्ण देशको गौरवपूर्ण सांस्कृतिक उत्सव भएको बताएका छन्।
विराटनगरस्थित राधाकृष्ण मन्दिरमा रथयात्राको तयारीको अवलोकन गर्न पुगेका मुख्यमन्त्री कार्कीले उक्त उत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
नवीन ढंगमा निर्माण गरिएको नयाँ रथको अवलोकन गर्दै उनले पुरानो रथलाई मन्दिर परिसरमै संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए। “पुरानो रथ पनि हाम्रो सम्पदा हो, त्यसलाई जतन गर्नुपर्छ,” उनले भने।
रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा संयन्त्रहरूलाई निर्देशन दिइसकेको बताउँदै, मुख्यमन्त्री कार्कीले नेपाली सेनासँग हेलिकप्टरमार्फत पुष्पवृष्टिको व्यवस्था गर्नसमेत अनुरोध गरिएको जानकारी दिए।
मुख्यमन्त्रीले समारोह समितिलाई भारतका विभिन्न मुख्यमन्त्रीहरूलाई तीन महिना अघिनै निमन्त्रणा पठाई आतिथ्य सत्कारको तयारी मिलाउन निर्देशन दिएका छन्।
रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मी, नन्दकिशोर राठी र कृष्ण कार्कीले मुख्यमन्त्रीलाई तयारीबारे विस्तृत जानकारी गराएका थिए।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने यो रथयात्रा नेपालकै सबैभन्दा ठूलो र एसियाकै दोस्रो ठूलो धार्मिक रथयात्रा मानिन्छ। कार्यक्रममा भारत र नेपालका विभिन्न स्थानबाट हजारौं श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।