हिपमत डटकम

बिहिबार, साउन २३, २०८२ || 1558  पटक पढिएको

विराटनगर ।कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको बताउनुभएको छ । कुनै बेला विश्व युद्ध ताका भएको अवस्था भन्दा अमेरिकी राज्यको एकल आधिपत्य भएको बेलाको अवस्था फरक रहेको चर्चा गर्दै उहाँले अहिले शक्ति राष्ट्रहरुबिचको प्रतिष्पर्धा भएको अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिका थप बढेर गएको उहाँले बताउनुभयो ।

उहाँले विश्वभरका राष्ट्रहरुलाई मित्रवत अवस्थामा राख्दै सबैबिच सहकार्यको भूमिका निर्वाह गराउन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा विश्वलाई केन्द्रित भएर साझा समस्याको विषयमा छलफल गरि समाधानको उपाय खोजिने समेत चर्चा गर्नुभयो ।

आज विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा संयुक्त राष्ट्रसंघको महासभाको नमुना अभ्यास कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालको कोशी प्रदेशका युवा विद्यार्थीले उठान गर्ने विषय र दिने सुझावले विश्वको ध्यान खिचोस भन्ने शुभकामना समेत दिनुभयो । उहाँले अहिले भइरहेको शक्ति राष्ट्रहरु बिचको प्रतिष्पर्धा, दुई शक्ति राष्ट्रबिचको नेपालको अवस्था, जलवायु परिवर्तन, मानव अधिकारका क्षेत्रका सवालमा यस अभ्यासमा घनिभूत छलफल गरि सांकेतिक रुपमा नै भएपनि महत्वपूर्ण सुझाव दिन सकोस् भन्ने कामना गर्नुभयो ।

यो सँगै विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा आज देखि संयुक्त राष्ट्रसंघको महासभाको तीन दिने नमूना अभ्यास शुरु भएको छ । यस्तै उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका विद्यालयका प्रीन्सीपल टिकाराम पुरीले एभरेष्ट स्कुलले पहिलो पटक आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघ सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने, विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कुटनीति, सम्बन्ध, नियमहरुका विषयमा जानकार बनाउने लगायतका उद्देश्य रहेको बताउनुभयो ।

ग्लोबल हेल्प फाउन्डेसनसँगको सहकार्यमा सुरु भएको तीन दिवसीय कार्यक्रममा आज पहिलो दिन संयुक्त राष्ट्रसंघको महासभामा पालना गर्नुपर्ने नियम तथा आचारसंहिता लगायतका विषयमा जानकारी गराइएको छ । नमूना संयुक्त राष्ट्रसंघको अभ्यासमा एभरेष्टका ३३ जना विद्यार्थीहरु विभिन्न देशका सांकेतिक प्रतिनिधिहरुको रुपमा सहभागि छन् ।

उनीहरुले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा, राष्ट्रसंघ मानव अधिकार परिषदमा कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकार उल्लङ्घनहरूलाई सम्बोधन गर्ने, विश्व स्वास्थ्य संगठनमा कोभिड –१९ पछि विद्यालय र समुदायहरूमा मानसिक स्वास्थ्य सहयोग सुनिश्चित गर्ने, संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रममा दिगो कृषि मार्फत जलवायु लचिलोपन प्रवर्धन गर्ने, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा विपद् तयारी र प्रतिक्रियाको लागि क्षेत्रीय सहयोगलाई सुदृढ गर्ने लगायतका एजेण्डामा छलफल गर्ने आयोजक कमिटीका संयोजक इशल भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका २ सय बढी विद्यार्थी सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!