पथरी । प्रथम अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको पहिलो संस्करण सफलतापुर्वक सम्पन्न गरेको पथरी ११ फुटबल क्लबले आगामी कात्तिकमा दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।
क्लबले आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गर्दै गोल्डकपको दोस्रो संस्करण आगामी कात्तिक १५ देखि २२ गतेसम्म पथरीस्थित प्रस्तावित पथरी रंगशालामा आयोजना गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुमन बिकले प्रतियोगिताको प्रथम पुरस्कार ५ लाख रुपैयाँ र दोस्रो पुरस्कार २ लाख ५० हजार रुपैयाँ रहेको जानकारी दिए । ६० लाख रुपैयाँको कुल लागत अनुमान गरिएको प्रतियोगितामा मुख्य प्रायोजकबाट २० लाख तथा सह-प्रायोजकबाट ५ लाख रुपैयाँ प्राप्त हुने उनले बताए ।
कार्यक्रममा क्लबका सदस्य तथा मुख्य प्रशिक्षक अर्जुन बस्नेत र पहिलो संस्करणका संयोजक जितन राईले दोस्रो संस्करण भव्य रूपमा आयोजना गरेर सफल बनाउने बताए । कार्यक्रममा बोल्दै राईले भने “स्थानीय युवा प्रतिभा र अन्तर्राष्ट्रिय खेलाडीहरूबीच प्रतिस्पर्धा गराउने उद्देश्यले हामीले दोस्रो संस्करण अझ भव्य बनाउने योजना बनाएका छौं ।”
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित पथरी शनिश्चरे खेलकुद विकास समितिका संयोजकले दीपक राईले गोल्डकपलाई सफल बनाउन नगरपालिकाको तर्फबाट पुर्ण रूपमा सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सुमन विकले दोस्रो संस्करणको सफलताका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए । उनले सबै पक्षलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
क्लबका सचिव केसर राईद्वारा सञ्चालित कार्यक्रममा क्लबका कोषाध्यक्ष अम्बिका लिम्बू , सल्लाहकार भीष्म न्यौपाने , खेलप्रेमि युवा प्रदिप कुमार राई लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा प्रथम संस्करणको समाप्ति यता क्लबले गरेको आम्दानी तथा खर्चको विवरण समेत सार्वजनिक गरिएको थियो । क्लबका अध्यक्ष सुमन विकद्वारा सार्वजनिक विवरण अनुसार क्लबको कुल आम्दानी १७ लाख ८५ हजार ८ सय ४० रुपैयाँ रहेको छ भने खर्च १४ लाख ८१ हजार १ सय ५५ रुपैयाँ रहेको छ । हाल क्लबसंग बैंल मौज्दात ३ लाख ४ हजार ६ सय ८५ रुपैयाँ रहेको बताईएको छ ।