काठमाडौं, जेठ १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले स्थापना गरेको गणतन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
काठमाडौंको टुँडिखेलमा आयोजित गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक प्रणालीमार्फत मात्र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सकिने बताए।
प्रधानमन्त्री ओलीले गणतन्त्रले नागरिक सर्वोच्चता र सेवा केन्द्रित राज्य संयन्त्रको मार्ग प्रशस्त गरेको उल्लेख गर्दै राजतन्त्रले विगतमा जनतासँग गरेका सम्झौता उल्लंघन गर्दै जनतामाथि शासन गरेको स्मरण गराए।
वर्तमान समयमा पनि नागरिक अधिकार खोस्ने प्रयास भइरहेको भन्दै उहाँले सचेत रहन आग्रह गरे। गणतन्त्र र निरंकुशतन्त्रबीच तुलना गर्नुको सट्टा जनताको हित र अधिकारको रक्षा गर्नु मुख्य उद्देश्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन्।