
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा ‘फेरि भेटौला तथा स्वागत कार्यक्रम’ सम्पन्न भएको छ । आज (बुधबार) नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

नगरबाट बिदाइ भएर जानुहुने प्रमुख प्रशासकीय अधिकृत शशि राई र नगरमा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको स्वागत कार्यक्रम एकसाथ सम्पन्न भएको हो ।

प्रशासन शाखा प्रमुख लुकनाथ पोखरेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण) ले गर्नुभएको थियो । यसैगरी नगर उप–प्रमुख देविमाया काफ्ले, भागिरथ माविका अध्यक्ष पर्शु कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुले संयुक्त रुपमा विदाइ भइ जानुहुने शशि राईलाई मायाको चिनो वितरण गर्नुभएको थियो भने नव आगन्तुक प्रमुख प्रशासकीय अधिृकत खतिवडालाई खदा र अबिर लगाई स्वागत गरिएको थियो ।

निक्कै खचाखच भरिएको सो सभाहलमा नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीले पनि प्रमुख प्रसाशकीय अधिकृत राईलाई बिदाई कार्यक्रम गरेको छ । पथरी शनिश्चरे क्षेत्रलाई आधार बनाई सञ्चारकर्ममा लागेका पत्रकारहरुले पनि मायाको चिनो प्रदान गर्दै राईलाई विदाई गरेको हो ।

राईले पथरी शनिश्चरे नगरपालिकामा २०८० भदौ ४ गतेदेखि कार्यभार सम्हाल्नु भएको थियो । सो कार्यक्रममा नगरका कर्मचारीहरू, विद्यालयका प्रधानाध्यापकहरु, राजनीतिक दलका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।