पथरी शनिश्चरे । पथरीमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको मंगलबार भएको खेलमा पथरीशनिश्चरे क्रिकेट क्लब र दमक क्रीकेट क्लब विजयी भएको छन । पथरीशनिश्चरेले पञ्चध्वज क्रिकेट क्लब मोरङलाई ४ विकेटले पराजित गरेको हो ।
जिरिखिम्ती मैदानमा भएको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पञ्चध्वज क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। पन्चध्वजका भूपेन राईले सर्वाधिक ३७ रन बनाउँदा राकेश राई र राजकुमार मगरले समान १० रनको योगदान दिए।
पथरीशनिश्चरेका तर्फबाट नेल्सन दंगाल, अभिषेक बिक बाला र रोहन गहतराजले समान २-२ विकेट लिए भने दिपेश भण्डारीले १ विकेट हात पारे। लक्ष्य पछ्याउन उत्रिएको पथरीशनिश्चरेले १७ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। समित राईले आक्रामक पारी खेल्दै ७२ रन बनाए भने सोलोमन राईले १९ र योगेश श्रेष्ठले १३ रन जोडे। पञ्चध्वजका सन्जय मुर्मु, भूपेन राई र पवन जैशवालले समान १-१ विकेट लिए।
मंगलबार नै भएको दोश्रो खेलमा दमक क्रीकेट क्लबले केराबारी क्रीकेट क्लबलाई १७१ रनको फराकिलो रनले पराजित गर्यो ।
टस हारेर पहिला ब्याटिङ गरेको दमक क्रिकेट क्लबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २४१ रन को विशाल योगफल तयार गर्यो । दमकका लागि विजय तामाङले उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार प्रहार गरे । उनले १०६ रन बनाउदा वोधराज आचार्यले ४६ र प्रदीप परियारले ३९ रनको योगदान दिए। केराबारी क्रिकेट क्लबका अभिषेक थापाले ३ विकेट लिए भने शशी मण्डल र सनम सुवेदीले १-१ विकेट लिए।
जवाफमा मैदान उत्रिएको केराबारी क्लब ७० रनमै समेटियो । दमकका बलर सामु निरीह बनेका केराबारीका सन्जय राईले १४ र सनम सुवेदीले १६ रन बनाउनु बाहेक अन्य ब्याष्टमेनले दोहोरो अंकको रन बनाउन सकेन्न ।
केराबारीलाई सस्तैमा समेटन दमकका बलर अनिश खड्काले ४ विकेट लिए भने चन्दन शर्मा र सन्तोष सिंहले समान २-२ विकेट लिदा किरण गौतमको नाममा १ विकेटको योगदान रह्यो ।
खेलको म्यान अफ दि म्याच दमकका बिजय तामाङ घोषित भए । बुधबारबाट दोश्रो चरणका खेल सुरु हुनेछ्न । पहिलो खेल काकडभिटा झापा र मोरङको डाँस मोरङी बिच हुने छ भने दोश्रो खेल हसन्दह क्रीकेट क्लब र ब्रदर्स ११ झापा बिच हुने छ ।